मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाखभन्दा बढी भेटी सङ्कलन, १२ देशका मुद्रा जम्मा

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाखभन्दा बढी भेटी सङ्कलन, १२ देशका मुद्रा जम्मा

शनिवार, मंसिर १२ २०८३
शनिवार, मंसिर १२ २०८३
  • मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाखभन्दा बढी भेटी सङ्कलन, १२ देशका मुद्रा जम्मा

    मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।

    मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/८४ को साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत कुल ४५ लाख ४६ हजार ८३२ रुपैयाँ बराबरको भेटी सङ्कलन भएको हो ।

    समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार उक्त अवधिमा नेपाली २६ लाख ५९ हजार ५५७ रुपैयाँ र भारतीय ११ लाख ७९ हजार ५४७ रुपैयाँ सङ्कलन भएको छ । भक्तजनले १०० रुपैयाँभन्दा बढी सहयोग गर्न चाहेमा रसिद काट्ने र सोभन्दा कम रकम दान गर्न चाहेमा दान पेटिकामा राख्न सक्ने व्यवस्था गरिएको छ ।

    चालु आवको पहिलो चार महिनामा रसिदमार्फत नेपाली १७ लाख ५८ हजार ५६२ रुपैयाँ र भारतीय तीन लाख ९२ हजार ६८७ रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ ।

    मुक्तिनाथ मन्दिरमा नेपाली र भारतीय मुद्राबाहेक अन्य १० देशका मुद्रा पनि भेटीका रूपमा सङ्कलन भएका छन् । व्यवस्थापक भुसालका अनुसार यस अवधिमा अमेरिकी डलर ८०२, अस्ट्रेलियन डलर २७०, थाई भाट ४४०, यूएई दिराम एक हजार २५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउन्ड २१, ओमानी रियाल पाँच, युरो एक र चिनियाँ युआन १३० सङ्कलन भएको छ ।

    समितिका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कोषमा ११ करोड ७६ लाख ३३ हजार १९१ रुपैयाँ मौज्दात रहेको थियो । भेटी तथा चन्दाबापत सङ्कलित रकम कृषि विकास बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको समितिको खातामा जम्मा गर्ने गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij