भक्तपुर । क्रियाशील पत्रकार मञ्च भक्तपुरले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
मञ्चको १६औँ वार्षिक साधारणसभा, छैटौँ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री थापामगर, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको हो ।
स्थानीय तहको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नगर प्रमुख थापा र भक्तपुर अस्पतालको विकास तथा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल भएको भन्दै स्वास्थ्य सचिव गौतमलाई सम्मान गरिएको मञ्चले जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भई ज्यान गुमाएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत टेकराज थामीलाई मरणोपरान्त क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नगद पाँच हजार रुपैयाँसहितको उक्त पुरस्कार उनकी पत्नी एवं पत्रकार कालिका खड्कालाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै, कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई स्व. लक्ष्मीमाया कासिछ्वा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनले पनि नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री थापामगरले पत्रकारले गुगलमा उपलब्ध सूचनामा मात्र निर्भर नभई घटनास्थलमै पुगेर वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । देशको विकास र समृद्धिमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले जनप्रतिनिधिलाई खबरदारी गर्न, विकृति उजागर गर्न र यथार्थपरक समाचार लेख्न आग्रह गरे ।
बागमती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको उनले बताए । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।
मुख्यमन्त्री थापामगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको दाबी गरे । प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै उनले सङ्घीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्य चिर्न आवश्यक रहेको बताए ।
भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउन प्रदेश सरकार लागिरहेको भन्दै उनले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. गौतमले बागमती प्रदेशले पत्रकारका लागि निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरेको जानकारी दिइन् । त्यसका लागि नेपाल पत्रकार महासङ्घको सिफारिस आवश्यक पर्ने उनले बताइन् ।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारले समाचार सङ्कलन र सम्प्रेषण गर्दा दलगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए । नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पछिल्लो १० वर्षमा सूर्यविनायकको विकासमा उल्लेखनीय प्रगति भएको बताए ।
मञ्चका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पुष्करराज बूढाथोकी र सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहँदै आएको बताए ।