तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने रुखमध्ये हालसम्म ५० प्रतिशत कटानकार्य सम्पन्न भएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रमा रुख कटानको काम भइरहेको छ । चितवनको भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन, सतनचुली सामुदायिक वन र भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी तथा सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिनेछ ।
मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवन जिल्लामा कुल ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको थियो । त्यसमध्ये चितवनमा २५ दशमलव २७ हेक्टर र तनहुँमा ६७ दशमलव ४६ हेक्टर वन क्षेत्र छ । उक्त क्षेत्रमा रहेका कुल नौ हजार १२७ वटा रुख हटाउन सरकारले स्वीकृति दिएको थियो ।
आयोजनाको प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न तथा रुख कटान गर्न आवश्यक सरकारी स्वीकृति प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । वन क्षेत्रभित्र प्रसारण लाइनका टावर निर्माण तथा तार तान्ने कामका लागि आवश्यक स्थान व्यवस्थापन गर्न रुख कटान भइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।
प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ । करिब ३५ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ ।
आयोजना प्रमुख भण्डारीका अनुसार हालसम्म ९४ वटा टावरमध्ये ८३ वटाको जग हाल्ने काम सम्पन्न भएको छ । त्यस्तै ८१ वटा टावर जडान भइसकेका छन् । प्रसारण लाइनको कुल ३४ दशमलव ७० किलोमिटर लम्बाइमध्ये हालसम्म दुई दशमलव दुई किलोमिटर तार तान्ने काम सम्पन्न भएको छ ।
टावरको जग निर्माण र जडानको काम उल्लेख्य रूपमा अघि बढे पनि रुख कटान तथा वन क्षेत्र व्यवस्थापनसँगै तार तान्ने कामलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ । प्रसारण लाइन निर्माणको समग्र भौतिक प्रगति भने ८३ दशमलव पाँच प्रतिशत पुगेको भण्डारीले जानकारी दिए ।
तनहुँ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न दमौली–भरतपुर प्रसारण लाइन महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको छ । कूल १४० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न आवश्यक संरचनामध्ये यो प्रसारण लाइन महत्वपूर्ण हिस्सा हो ।