काठमाडौँ । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । सो घट्नामा परेर २१ जना घाइते भएका छन् ।
बुधबार साँझ कायरोको वर्राक क्षेत्रमा पर्ने रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो । आगो सडकमा गुडीरहेका अन्य सवारीसाधनमा समेत फैलिएपछि क्षति बढेको स्थानीय शुरक्षा अधिकारीले बताएका छन् ।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि नजिकका अस्पतालमा उपचार गरिएको छ । सरकारी अखबार अल–अहरामका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको पाइएको छ ।
त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र पेट्रोल सडकमा पोखिएपछि आगलागी भएको बताइएको छ । घटनाको आधिकारिक कारणबारे भने अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।