काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा वितरण प्रणाली भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक काम गर्नुपर्ने भएकाले सम्बन्धित फिडरबाट विद्युत् आपूर्ति रोक्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
जारी तालिकाअनुसार आज मंसिर १२ गते शनिबार आलोकनगर मार्ग, नापी विभाग क्षेत्र र आसपासका स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
त्यस्तै, भोलि मंसिर १३ गते आइतबार शंखमूल मार्ग, एभरेष्ट अस्पताल र मुक्ति टावर क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणले मंसिर १५ गतेसम्म विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गरी प्राविधिक काम सम्पन्न गर्ने जनाएको छ ।
