काठमाडौं । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ ।
जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली राम जन्मभूमि अयोध्याका लागि प्रस्थान गरेको हो । त्रेता युगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको स्मरणमा हरेक वर्ष विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन नेपाली टोली अयोध्या जाने गरेको छ ।
विवाहपञ्चमीको निमन्त्रणा दिन अयोध्या जाने टोली आजदेखि औपचारिक रूपमा यात्रु सेवा सुरु गरेको सरयू–कमला एक्सप्रेस रेलमार्फत गएको हो । टोलीले अयोध्याका लागि निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लगेको छ ।
जनकपुरधाममा हरेक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता–राम विवाहको धार्मिक परम्परालाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ ।