काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भएका छन् । प्रतियोगिताको उद्घाटन समारोह मङ्सिर १६ गते बुधबार बिहान १० बजे सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा आयोजना हुनेछ ।
वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी दिएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले पनि उद्घाटनका लागि आवश्यक तयारी पूरा भएको बताए ।
उद्घाटन समारोह करिब तीन घण्टासम्म सञ्चालन हुने र त्यसलाई भव्य बनाउन कर्णालीका विभिन्न सांस्कृतिक झाँकी तथा प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ । समारोहमा विद्यालय, सुरक्षा निकाय तथा खेलाडीको मार्चपाससमेत हुनेछ ।
सदस्यसचिव मेहताका अनुसार प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भइसकेको छ । खेलाडीको आवास, यातायात तथा खेलस्थलसम्म आउजाउ गर्ने व्यवस्थासमेत मिलाइएको छ । प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका विभिन्न उपसमिति पनि सक्रिय रहेको उाले बताए ।
सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहभागिता रहेको प्रतियोगिताका खेलहरू उद्घाटन समारोहअघि नै सञ्चालन भइरहेका छन् । नेपालगञ्जमा पौडी प्रतियोगिता सम्पन्न भइसकेको छ भने सुर्खेतलगायत विभिन्न स्थानमा अन्य खेल जारी छन् ।
प्रतियोगिताअन्तर्गत २२ खेल सुर्खेतमा सञ्चालन हुनेछन् भने केही खेल कर्णालीका अन्य जिल्ला तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा आयोजना गरिएका छन् । पुरुष फुटबलको सेमिफाइनल जुम्लामा खेलाइने तय भएको छ ।
पुरुष फुटबलको सेमिफाइनल सुर्खेतबाहिर जुम्लामा राखिएको विषयमा उठेका प्रश्नबारे मन्त्री पोखरेलले कर्णालीलाई सुर्खेतमा मात्र सीमित गरेर हेर्न नहुने बताए । उनले राष्ट्रिय खेलकुदको उद्देश्य देशका विभिन्न क्षेत्रमा खेलकुदको विकास र अवसर विस्तार गर्नु पनि रहेको उल्लेख गरे ।
‘कर्णाली भनेको सुर्खेत मात्र होइन, त्यसैले सुर्खेतको तुलनामा अन्य ठाउँ विकास हुन सकिरहेको छैन,’ उनले भने । जुम्लामा सेमिफाइनल खेल राख्दा त्यहाँका स्थानीय बासिन्दा उत्साहित भएको पनि उनले बताए ।
आयोजकले सहआयोजक कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालगायतका निकायबाट आवश्यक सहयोग प्राप्त भइरहेको जनाएको छ ।