मध्यपुर थिमिमा खेलकुद महोत्सव हुँदै, मेयर कप फुटबलको विजेतालाई १० लाख २५ हजार

मध्यपुर थिमिमा खेलकुद महोत्सव हुँदै, मेयर कप फुटबलको विजेतालाई १० लाख २५ हजार

शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • मध्यपुर थिमिमा खेलकुद महोत्सव हुँदै, मेयर कप फुटबलको विजेतालाई १० लाख २५ हजार

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । महोत्सवअन्तर्गत बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगितासहित विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

    नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटअनुसार आयोजना हुन लागेको खेलकुद महोत्सव आगामी पुष ४ गतेदेखि सञ्चालन हुनेछ । महोत्सवको औपचारिक शुभारम्भ पुष ११ गतेदेखि बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिताबाट गरिनेछ ।

    मध्यपुर थिमि नगरपालिकाले खेलकुद महोत्सवबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक निर्माण, अनुशासन, सामाजिक एकता, नेतृत्व विकास र युवाको क्षमता अभिवृद्धिको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउन महोत्सव आयोजना गर्न लागिएको बताए ।

    नगरपालिकाले मध्यपुर थिमिलाई कला, संस्कृति, सम्पदा र ऐतिहासिक पहिचानसँगै खेलकुदको क्षेत्रमा पनि राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्यसहित खेलकुद महाेत्सव गर्न लागिएको नगर प्रमुख श्रेष्ठलेको भानाई थियाे ।

    पुष ११ देखि मेयर कप फुटबल

    महोत्सवअन्तर्गत सञ्चालन हुने बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता पुष ११ गतेदेखि सानाेठिमीस्थित मध्यपुर खेल मैदानमा सञ्चालन हुनेछ ।

    प्रतियोगितामा बागमती प्रदेशभित्रका नगरपालिकाहरूले आफ्नो नगरपालिकाको प्रतिनिधित्व हुने गरी फुटबल टोली सहभागी गराउन सक्नेछन् । प्रत्येक नगरपालिकाबाट एउटा मात्र टोली सहभागी हुन पाउने व्यवस्था गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

    Messenger_creation_B4251F38-6F69-474B-A781-DC712163DA5F.jpeg

    नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताले सहभागी नगरपालिकाबीच खेलकुदको माध्यमबाट आपसी भाइचारा, सद्भाव, समन्वय र सहकार्य अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा रहेका फुटबल प्रतिभालाई पहिचान गर्ने उद्देश्य लिइएको नगर प्रमुख श्रेष्ठले बताए ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक नगरपालिकाहरूले २०८३ साल पुष ४ गतेभित्र टोली दर्ता गराउनुपर्नेछ । टोली दर्ता शुल्क २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

    विजेतालाई १० लाख २५ हजार रुपैयाँ

    मेयर कप फुटबल प्रतियोगिताको विजेताले १० लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, फेयर प्ले पुरस्कारस्वरूप ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

    प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई पनि विभिन्न पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट प्लेयर अफ द टुर्नामेन्टलाई विद्युतीय स्कुटरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

    बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र बेस्ट कोचले जनही २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

    २० खेलाडीसम्म टोली दर्ता गर्न सकिने

    प्रतियोगितामा प्रत्येक टोलीले अधिकतम २० जना खेलाडी र ५ जना अफिसियल गरी कुल २५ जनासम्म दर्ता गराउन सक्नेछन् । सुरुमा प्रत्येक टोलीले कम्तीमा १६ जना खेलाडी दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।

    सहभागी टोलीले सम्बन्धित नगरपालिकाको आधिकारिक पत्र, खेलाडीको नागरिकता, जन्मदर्ता वा अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपि, खेलाडीको विवरण तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ । बागमती प्रदेशअन्तर्गत सम्बन्धित पालिकामा जन्म भएका वा बसाइँसराइ गरी आएका खेलाडीले आफ्नो सम्बन्धित पालिकाको टोलीबाट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

    टोलीले प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षक, टिम म्यानेजर, फिजियोथेरापिस्टलगायत आवश्यक अफिसियलहरूको नाम र सम्पर्क नम्बरसमेत दर्ता गराउनुपर्नेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रचलित नियमअनुसार सञ्चालन हुनेछ ।

    महोत्सवमा १२ विधाका प्रतियोगिता

    मध्यपुर थिमि खेलकुद महोत्सवलाई व्यापक, समावेशी र सहभागितामूलक बनाउन राष्ट्रव्यापी, प्रदेशव्यापी, उपत्यकाव्यापी तथा नगरव्यापी स्तरका विभिन्न प्रतियोगिता सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

    महोत्सवअन्तर्गत बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल, राष्ट्रव्यापी बुद्धिचाल, उपत्यकाव्यापी भलिबल, मार्सल आर्ट, किक बक्सिङ, टेबल टेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नूकर प्रतियोगिता आयोजना गरिनेछ ।

    मार्सल आर्टअन्तर्गत कराते, तेक्वान्दो, उसु तथा आइकेकेएफ कराते प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको छ । महोत्सवको सूचीमा उसु प्रतियोगिता छुट्टै विधाका रूपमा पनि उल्लेख गरिएको छ ।

    यी प्रतियोगिताले सामूहिक खेलदेखि व्यक्तिगत प्रतिस्पर्धाका विभिन्न विधामा रुचि राख्ने बालबालिका, किशोरकिशोरी, युवा तथा अनुभवी खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    खेलकुदमार्फत युवा विकास र नगरको पहिचान

    नगर प्रमुख श्रेष्ठले युवाहरूको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई सकारात्मक तथा रचनात्मक क्षेत्रमा परिचालन गर्न खेलकुद प्रभावकारी माध्यम भएको बताए ।

    खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सामूहिक भावना, धैर्यता र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उल्लेख गर्दै नगरपालिकाले खेलकुद पूर्वाधार विकास, खेलमैदानको स्तरोन्नति, खेलाडीको क्षमता अभिवृद्धि, प्रशिक्षण तथा प्रतियोगिताको नियमित सञ्चालनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    विद्यालय तहदेखि नै खेलकुदलाई प्रोत्साहन गर्दै खेल संस्कृतिको विकास गर्न शैक्षिक संस्था, खेलकुद संघसंस्था, प्रशिक्षक, खेलाडी र अभिभावकसँग समन्वय तथा सहकार्य गरिने नगरपालिकाले जनाएको छ । महोत्सवले खेलकुद क्षेत्रको विकाससँगै मध्यपुर थिमिको ऐतिहासिक, सांस्कृतिक तथा सम्पदायुक्त पहिचानलाई राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने अवसर प्रदान गर्ने नगरपालिकाको विश्वास छ ।

    विभिन्न स्थानबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा खेलप्रेमीहरूको आगमन हुँदा नगरभित्रका होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय व्यवसाय तथा सेवा क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । खेलकुद र पर्यटनलाई परिपूरक बनाउँदै मध्यपुर थिमिलाई खेलकुद, संस्कृति र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत नगरपालिकाले अघि सारेको श्रेष्ठको भनाइ छ ।

    सबै पक्षको सहयोगको अपेक्षा

    नगरपालिकाले खेलकुद महोत्सव सफल बनाउन सबै वडाहरू, खेलकुद संघसंस्था, स्थानीय क्लब, विद्यालय तथा शैक्षिक संस्था, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमसँग सहयोग तथा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ । नगरपालिकाका अनुसार महोत्सवलाई एकपटकको प्रतियोगितामा सीमित नराखी नियमित खेलकुद संस्कृतिको सुरुवातका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।

    ‘खेलकुदमा लगानी भनेको स्वस्थ नागरिक, अनुशासित समाज, सक्षम युवा र समृद्ध राष्ट्र निर्माणमा लगानी हो’ भन्ने सोचका साथ महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । पत्रकार सम्मेलनमा नगर उप प्रमुख बिजय कृष्ण श्रेष्ठ, नगर प्रबक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरि आचार्य, विभिन्न वडाका वडाध्यक्ष, महाशाखा प्रमुख लगाएको उपस्थिति रहेकाे थियाे ।

    प्रतियोगिता अन्तरगत फुटबल प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि नगर प्रबक्ता आचार्यकाे संयाेजकत्वमा मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्र मान सिंह र युवा तथा खेलकुद विकास शाखाका धना गिरी सदस्य रहेको समिति बनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij