काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेशनलबाट दुई विधामा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा सम्मान गरिएको हो ।
ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नवीन प्रविधिमा आधारित बैंकिङ सेवा विकास तथा विस्तार गरेको भन्दै बैंकलाई यी अवार्ड प्रदान गरिएको हो । भिसाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नयाँ बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सेवा र सुविधा उपलब्ध गराउन गरेको प्रयासको कदरस्वरूप बैंक सम्मानित भएको जनाएको छ ।
आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको थियो ।
त्यस्तै, बैंकले सन् २०२२, २०२४ र २०२५ मा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’, सन् २०२४ मा ‘बेस्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मानसमेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकका हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय सञ्चालनमा छन् । यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ । बैंकले विप्रेषण सेवामार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको जनाएको छ ।