भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

    रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ ।

    बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ५०० दाखिला  गरिन् ।

    योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक रु १७ हजार ५०० सहायता पाउनेछिन् । बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले बताइन् ।

    उनले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पारिन् । स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई संस्थागत संरक्षणका नाममा बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उनले बताइन् ।

    बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर मात्रै उद्धार, संरक्षण र पुनःस्थापनाको काम अघि बढाइने उल्लेख गर्दै उनले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत ध्यान दिएर सरकारले दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको जानकारी दिइन् ।

    राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीलाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो । मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटीजिएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ ।

    परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोली गत सातादेखि बाढी प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था पहिचान, मूल्याङ्कन तथा दीर्घकालीन स्याहार योजना निर्माणमा परिचालित छन् । स्थलगत अध्ययनका क्रममा गोल्जुङबेसीकी सुत्केरी र नवजात शिशुको अवस्था उच्च जोखिमपूर्ण देखिएपछि मन्त्री वादीले रकम प्रदान गरेकी हुन् ।

    मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । जसअनुसार एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ ।

    मन्त्रालयको बालकोषमा रु सात करोड रहेको र बाढी प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोड बराबरको सम्झौता भइसकेको मन्त्री वादीले बताइन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij