भक्तपुर । नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र नेप्सेम्याककाे भक्तपुरस्थित कार्यालयमा वातावरणमैत्री फोहोर सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । शनिवार एक समाराेहका बीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले थापाले साे केन्द्रकाे शुभारम्भ गरे ।
फोहोर सङ्कलन केन्द्रलाई थप स्वच्छ, सुरक्षित र वातावरणमैत्री बनाउने उद्देश्यले स्वचालित सरसफाइ तथा स्प्रे प्रणाली र दुर्गन्ध न्यूनीकरणका लागि सुगन्धित सेन्ट मेसिनसमेत आजैदेखि सञ्चालनमा ल्याइएको छ।

नेप्सेम्याकका अध्यक्ष टीका दहालका अनुसार, फोहोरबाट उत्पन्न हुन सक्ने कीटाणु तथा दुर्गन्ध न्यूनीकरण गर्दै टोलवासी र आसपासका नागरिकलाई सहज वातावरण उपलब्ध गराउने यो प्रयासले फोहोर व्यवस्थापनलाई थप व्यवस्थित र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

साेहि अवसरमा नेप्सेम्याक भक्तपुरको समन्वयमा फोहोरमैला व्यवस्थापनमा अहोरात्र खटिने कर्मचारी तथा श्रमिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। राधे राधेस्थित नेप्सेम्याक भक्तपुर शाखाको परिसरमा सञ्चालित कार्यक्रममा करिब ११५ जनाको सहभागिता रहेको थियो।

नेपाल रेडक्रस शाेसाइटी भक्तपुर शाखमा र जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्रविधिक सहयोगमा आयोजित साे शिविरमा ७३ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिए भने १२ महिलासहित ४५ जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक एवम् नेप्सेम्याकका सञ्चालक गाेबिन्द आचार्यले जानकारी दिए ।

संयोजक आचार्यका अनुसार, फोहोर व्यवस्थापन संस्था, नगरपालिका, टोल समुदाय र नागरिकबीचको सहकार्यलाई अझ आत्मीय बनाउँदै श्रमिकको स्वास्थ्य, वातावरण संरक्षण र जनस्वास्थ्यलाई एकैसाथ अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हाे ।

“सफा शहर, सभ्य नागरिक र स्वस्थ समाज” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले श्रमिकको स्वास्थ्य, मानवताको सेवा र वातावरणमैत्री फोहोर व्यवस्थापनलाई एउटै अभियानमा जोड्दै समाजप्रतिको संस्थागत उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति रामेश्वर थापा, राष्ट्रका लागि २ घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेल, चाँगुनारायण नगरपालिका वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधानले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काकाे शिविरको महत्त्वकन बारेमा प्रकाश पारेका थिए ।
भक्तपुर शाखाका निर्देशक बाबुराम चौलागाईले स्वागत मन्तव्य व्यक्त गर्दै भक्तपुरमा विभिन्न संघसंस्थाहरुले सञ्चालन गरिरहेका अभियानहरुले फोहोरमैला व्यवस्थापनमा ठूलो सहयोग पुगेको बताए । कार्यक्रममा टोल विकास संस्था, फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित संघसंस्था, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।