भक्तपुर । बागमती प्रदेश सरकारले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन छुट्टै ऐन ल्याउने तयारी गरेको छ।
मुख्यमन्त्री किरण थापाले भक्तपुरको राधेराधेमा आयोजित एक कार्यक्रममा बोल्दै हालको कानुनी व्यवस्था फोहोर व्यवस्थापनका लागि पर्याप्त नभएकाले नयाँ ऐन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्।

उनका अनुसार ऐनलाई अन्तिम रूप दिन फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्था र सरोकारवालासँग छलफल गरिनेछ। सफा, सुन्दर र वातावरणमैत्री प्रदेश निर्माणका लागि सबै तहका सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।

कार्यक्रममा नेप्सेम्याकका अध्यक्ष टीका दाहालले फोहोरलाई स्रोतका रूपमा उपयोग गर्दै रोजगारी, उद्योग तथा विद्युत् र ग्यास उत्पादनसँग जोड्नुपर्ने धारणा राखे। उनले स्थानीय तहका विद्यमान कानुन प्रभावकारी नभएको भन्दै प्रदेश सरकारले एकीकृत कानुनी व्यवस्था गर्नुपर्ने माग गरे।

नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) को आयोजनामा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा खुला रक्तदानसँगै नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।