काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न भोलिदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
यसअघि केही समय काम भएर स्थगित भएको नारायणगढ–मुग्लिन सडक आयोजनाअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको प्रशासनले जनाएको छ ।
निर्माण कार्यका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
यद्यपि, काठमाडौं–मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा आवतजावत गर्ने सवारीसाधनको आवागमन भने प्रभावित नहुने जनाइएको छ ।
प्रशासनले यात्रु तथा सवारीचालकलाई निर्धारित समयतालिकाअनुसार यात्रा गर्न र सम्भावित असुविधालाई ध्यानमा राख्दै आफ्नो यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ ।
