म्याग्दी । पछिल्लो वर्षापछिको बाढी पहिरोका कारण क्षति पुगेको बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो ।
आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको बताए । कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले बेनी–जोमसोम–कोरला सडकको ४६ ठाउँमा क्षति पुगेको छ ।
मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म र जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म मर्मत भई यातायातका साधन सञ्चालन हुन थालेको शर्माले बताए । त्यसैगरी रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डको सडक मर्मतका लागि सडक विभाग, जलविद्युत आयोजना र निर्माण व्यवसायीको उपकरण र मजदुर परिचालन गरिएको छ ।
असोज ११ गते कालीगण्डकी बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत कार्य पनि आजदेखि सुरु गरिने आयोजना प्रमुख शर्माले बताए । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रुपमा चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्क पाँच दिनदेखि टुटेको छ ।
कोरला नाकामा सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन् । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकासँग यातायात सम्पर्कबिच्छेद भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलु बजार पठाउन सकिएको छैन ।
त्यसैगरी दसैँका लागि भेडाच्याङ्ग्रा बजारमा बिक्रीका लागि लैजान समस्या भएको स्थानीयले बताएका छन् । पर्यटकीय गतिविधि ठप्प हुंदा होटल लगायतका व्यवसायी समस्यामा परेका छन् ।
सडक अवरुद्ध हुंदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन, जटिल प्रकृतिका बिरामीलाई अस्पताल पुग्न हेलिकप्टरको साहरा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । सडक मर्मतका लागि इन्धन आपूर्तिलाई पनि सहज बनाउने प्रयास भइरहेको बताइएको छ । .