म्याग्दी । कालीगण्डकीले पोखरेबगरको पुल बगाएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको हो ।
पुल बगाएपछि मुस्ताङसँग यातायात सम्पर्कबाट विच्छेद भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । यसैगरी, अन्नपूूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा अर्को एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जना वेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको पुनले जानकारी दिए।
बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमासमेत बाढीले क्षति पु¥याएको छ ।