लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीनदिने ‘विश्व शान्ति कार्यक्रम’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । शान्ति र समृद्धिलाई साझा भविष्यको आधार बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा अध्यात्म, जलवायु परिवर्तन, सामाजिक न्याय, दिगो विकास, कार्बन उत्सर्जनका चुनौती तथा एआईको प्रयोग र प्रभावका विषयमा बहस तथा संवाद भएका थिए ।
लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हल र रामग्राम स्तुपालाई केन्द्र बनाएर सञ्चालन गरिएको कार्यक्रममा विभिन्न देशका पूर्व राष्ट्रप्रमुख, नीति–निर्माता, विद्वान, व्यवसायी, कलाकार, बुद्धिस्ट गुरु तथा युवाहरूको सहभागिता रह्यो । तीन दिनसम्म लुम्बिनी विश्व शान्ति र संवादको साझा मञ्च बनेको थियो ।

सांस्कृतिक प्रस्तुति र आध्यात्मिक सन्देश
आध्यात्मिक तथा सांस्कृतिक प्रस्तुतिका कारण कार्यक्रमको उद्घाटन आकर्षक बन्यो । संयुक्त राष्ट्रसंघकी शान्ति राजदूत वुलुओ हाईका परम्परागत चिनियाँ गीत–संगीतले वातावरणलाई शान्त र आध्यात्मिक बनायो । नेपालकी चर्चित सितारवादक सीता मैया राजचलसहितको ब्यान्ड तथा परम्परागत वाद्ययन्त्रका अध्येता लोचन रिजालको प्रस्तुतिले पनि दर्शकको प्रशंसा बटुल्यो । रिजालले दुईवटा गीत गहिरो ‘फिलिङ्स’ प्रस्तुत गरेका थिए ।

शान्ति, नेतृत्व र सामाजिक न्यायमा बहस
कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले ‘किनोट स्पिच’ मार्फत नेपाली समाजमा निराशाबीच पनि खुसीलाई आत्मसाथ गर्ने क्षमता रहेको उल्लेख गर्दै शान्तिका लागि व्यवहारिक प्रयास आवश्यक रहेको बताए ।
इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेइनले आध्यात्मिक रूपान्तरण, नेतृत्व र विश्व शान्तिका सिकाइबारे पहिलो दिन संवाद गरे । दोस्रो दिन लुम्बिनी बौद्ध विश्वविद्यालयमा उनले विश्वविद्यालयमा हुने राजनीतिकरण, संस्थागत सुधार, न्याय र शान्तिका विषयमा प्रस्तुति दिए । उनले लुम्बिनी विकास गुरुयोजना, उत्खनन र संरक्षण प्रयासप्रति चासो राख्दै मायादेवी मन्दिर भ्रमणसमेत गरेका थिए ।

जलवायु, कार्बन उत्सर्जन र एआईमा छलफल
कार्यक्रमका सत्रहरूमा प्राकृतिक स्रोतको सदुपयोग गर्दै दिगो विकास कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरियो । विश्वव्यापी कार्बन उत्सर्जन न्यूनीकरण, हरित लगानी र प्रविधिको प्रयोग, साथै एआईले मानव जीवन, शान्ति र विकासमा पार्ने प्रभावबारे वक्ताहरूले आफ्ना धारणा राखे ।

रामग्राममा दीप प्रज्वलन
कार्यक्रमकै क्रममा रामग्राम स्तुपामा विभिन्न देशबाट आएका बुद्धिस्ट गुरु, अतिथि तथा सहभागीहरूको उपस्थितिमा विश्व शान्तिको कामना गर्दै सामूहिक दीप प्रज्वलन गरिएको थियो । हजारौँ दीप प्रज्वलनसँगै रामग्राम क्षेत्र शान्ति र सद्भावको प्रतीक बनेको थियो । संरक्षणको अभावमा पनि दीप प्रज्वलनले त्यस क्षेत्रलाई आकर्षक बनाएको थियो ।

अन्तर्राष्ट्रिय सहभागिता
कार्यक्रममा ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झु, अन्तर्राष्ट्रिय पर्यटन विज्ञ मार्टिन हाङ, लुम्बिनी अध्येता वसन्त विडारी, नेपाल पर्यटन बोर्डका सुनिल शर्मा, सागर भन्ते, काठमाडौं विश्वविद्यालयका उद्धव सिलवाल, मनोज शाक्य, दोभान राई, बालकृष्ण बल, एलपी भानु शर्मालगायतका विषयविज्ञले विभिन्न सत्रमा प्रस्तुति दिए । चीन, भारत, भियतनाम, इन्डोनेसिया लगायतका देशका उद्योगी तथा व्यवसायीको पनि कार्यक्रममा सहभागिता थियो । कार्यक्रममा निकैजना ‘बिलिनियर’हरुको सहभागिता रहेको थियो ।

आयोजकको भनाइ
कार्यक्रमका आयोजक संस्था ‘द प्रमिस्ड ल्यान्ड फाउन्डेसन’ का अध्यक्ष निकेश अधिकारीले लुम्बिनीलाई विश्व शान्ति, सद्भाव र संवादको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवद्र्धन र वैदेशिक लगानी भित्राउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
तीनदिने ‘विश्व शान्ति कार्यक्रम’ ले लुम्बिनीलाई विश्वसामु शान्तिको सन्देश मात्र होइन, साझा समाधान खोजिने अन्तर्राष्ट्रिय मञ्चका रूपमा उभ्याएको आयोजक तथा सहभागीहरूको निष्कर्ष छ ।