काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ताको क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति असन्तुष्टि जनाउँदै असभ्य व्यवहार देखाएको आरोप लगाए ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै ओलीले भने, “उम्मेदवारी दर्ता गर्न आउने क्रममा हामीलाई रोक्ने प्रयास भयो। त्यहाँ रास्वपाले असभ्यता देखायो । एमालेजस्तो पार्टीलाई रोक्न खोज्नु महँगो पर्न सक्छ ।” सो क्रममा दमक क्षेत्रमा एमाले र रास्वपाबीच तनावको अवस्था समेत सिर्जना भएको बताइएको छ ।
झापा–५ मा यसअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रञ्जित तामाङलगायतका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । बालेन शाहले काठमाडौंको मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट उम्मेदवारी दिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओलीले पुनः यही क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । उनी यसअघि पनि झापा–५ बाट निर्वाचित भएका थिए ।