काठमाडौं । चालु आर्थिक वर्षमा विभिन्न ४८ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरेर सरकारले ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सरकारले १८८ आरोहण टोलीलाई अनुमति दिँदा कुल ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ राजस्व प्राप्त गरेको हो ।
सबैभन्दा बढी राजस्व मनास्लु हिमाल आरोहणबाट सङ्कलन भएको छ । मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० आरोहीबाट सरकारले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ प्राप्त गरेको छ ।
त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि अनुमति लिएका ४७६ आरोहीबाट सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
धौलागिरि–१ हिमाल आरोहणका लागि अनुमति पाएका ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ र हिम्लुङ आरोहणका १३० जनाबाट ७९ लाख ७४ हजार २० रुपैयाँ राजस्व प्राप्त भएको छ ।
यसैगरी, मकालु हिमाल आरोहणका लागि अनुमति लिएका तीन आरोहीबाट छ लाख ८८ हजार ५० रुपैयाँ सलामी दस्तुर सङ्कलन भएको छ ।
उपलब्ध विवरणअनुसार मनास्लु हिमाल आरोहणबाट सबैभन्दा बढी राजस्व प्राप्त भएको छ ।