५८ वर्षपछि घर फर्किए यामबहादुर, दाजुलाई देख्दा आँखा रसाए

५८ वर्षपछि घर फर्किए यामबहादुर, दाजुलाई देख्दा आँखा रसाए

आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • ५८ वर्षपछि घर फर्किए यामबहादुर,  दाजुलाई देख्दा  आँखा रसाए

    ५८ वर्षपछि घर फर्किए यामबहादुर, दग्नाममा दाजुलाई देख्दा भाइका आँखा रसाए

    म्याग्दी, २१ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम कान्छीगाउँका ८१ वर्षीय यामबहादुर तिलिजा ५८ वर्षपछि जन्मथलो फर्किएका छन् । पाँच दशकभन्दा लामो समयदेखि परिवारको सम्पर्कबाट टाढा रहेका तिलिजा शनिबार घर फर्किएपछि दग्नाममा भावुक दृश्य देखिएको छ ।

    २० वर्षको उमेरमा रोजगारीको खोजीमा भारतको मणिपुर पुगेका तिलिजालाई परिवारले वर्षौँदेखि खोज्न सकेको थिएन । समय बित्दै जाँदा उनी जीवित भएको भन्ने आशासमेत परिवारले गुमाइसकेको थियो । परिवारसँग उनको फोटोसमेत थिएन ।

    तर, मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्किने बाटो खुलेको हो ।

    गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराएका थिए । त्यसपछि देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री तयार गरी सार्वजनिक गरेका थिए । त्यही सामग्रीमार्फत दुवैका परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए ।

    ‘मणिपुर घुम्न जाने क्रममा जङ्गलमा दुई वृद्ध बसिरहेको जानकारी पाएँ । श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेपछि परिवारजन सम्पर्कमा आए’, देवानले भने , ‘राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ ।’

    निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराएका थिए । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उनलाई जन्मथलो दग्नाम ल्याइएको हो ।

    दग्नाम पुगेपछि भाइहरूले फूलमाला लगाएर दाजुको स्वागत गरे। ५८ वर्षपछि दाजुको अनुहार देख्न पाउँदा परिवारमा खुसीसँगै भावुकता छाएको थियो । तिलिजाका तीन भाइ, बुहारी तथा आफन्तले उनलाई स्वागत गरेका थिए ।

    ‘एक दिन दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो । अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ’, तिलिजाका भाइ उदयचन्द्रले भने, ‘दाइको फोटो पनि हामीसँग थिएन । खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ । उनलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ ।’

    चार भाइमध्ये जेठा तिलिजाका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर भने दग्नाममै बस्दै आएका छन् । 

    सेनामा भर्ती हुने सपना बोकेर मणिपुर पुगेका थिए

    घरबाट निस्किएपछि तिलिजा लामो समय मणिपुरमै बसे । भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा उनी मणिपुर पुगेका थिए ।  तर, सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गर्न थाले । 

    समयसँगै परिवारसँगको सम्पर्क टुट्दै गयो । ‘परिवार र भाइहरूसँग सम्पर्क टुट्यो । पढाइलेखाइ नभएकाले चिठ्ठीपत्र पठाउन सकिनँ । पैसा नभएपछि घर फर्कन सकिनँ’, तिलिजाले भने । 

    मणिपुरमै विवाह गरेका तिलिजाले केही वर्षमै ठूलो पारिवारिक वियोग पनि सहनुपर्‍यो । उनकी छोरीको सात महिनामै मृत्यु भयो भने त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो ।

    उमेर ढल्किँदै गएपछि काठ काट्ने काम गर्न नसक्ने भएपछि उनले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आएका थिए । 

    ५८ वर्षपछि जन्मथलो फर्किन पाउँदा भने तिलिजाको जीवनमा नयाँ खुसी थपिएको छ ।

    ‘परिवारसँग भेट्न पाएँ । जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ’, उनले भने, ‘बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु ।’

    रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाका अनुसार तिलिजा लामो समयदेखि परिवारको सम्पर्कबाहिर हुनुहुन्थ्यो । उहाँ घर फर्किएसँगै पाँच दशकभन्दा लामो समयदेखि अधुरो रहेको एउटा परिवारको प्रतीक्षा पूरा भएको छ ।

    ५८ वर्षपछि दग्नामको एउटा परिवारले हराएको सदस्य मात्रै पाएन, वर्षौँदेखि हराएको खुसीसमेत फिर्ता पाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij