नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ । सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घरभाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैङ्क खातामा रकम पठाउन थालिएको हो ।
नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई उक्त रकम उपलब्ध गराउन थालिएको हो । लाभग्राही कायम भएका वडा नं १० वेत्रावतीसहित आसपासका बासिन्दालाई रकम उपलब्ध गराउन सुरु गरिएकामा अहिले प्रभावित सबै वडामा रकम बितरण गर्न थालिएको नगरप्रमुख श्रेष्ठले बताए ।
विदुर नगर कार्यपालिकाको गत भदौ २० गते बसेको १३४औँ बैठकले बाढी प्रभावितलाई आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहेमा मासिक १० हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा घरभाडामा बस्न आग्रह गर्दै त्यसबापतको खर्च छ महिनासम्म उपलब्ध गराउने घोषणा गरेको थियो ।
सोही घोषणाअनुसार दोहोरो भुक्तानी नहुने गरी विदुर नगरपालिकाले घरभाडाबापतको रकम उपलब्ध गराउन थालेको जनाएको छ । नगरपालिकाले सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा घरभाडामा बस्दा आवश्यक पर्ने बन्दोबस्तीका सामग्री, लत्ताकपडा, भाँडाकुँडा तथा सरसफाइका सामग्री यसअघि नै राहतस्वरूप उपलब्ध गराउँदै आएको छ ।
लाभग्राही पहिचानका लागि आवश्यक विवरण सङ्कलन तथा प्रमाणीकरणमा समय लागेकाले घरभाडाबापतको रकम वितरण गर्न ढिलाइ भएको नगरपालिकाले जनाएको छ । विदुर नगरपालिकामा बाढी प्रभावित एक हजार ७८६ परिवार लाभग्राही कायम भएका छन् । केही परिवार छुटेको गुनासो आइरहेकाले लाभग्राहीको सङ्ख्या थपघट हुनसक्ने बताइएको छ ।
सरकारले बाढी प्रभावित परिवारलाई कम्तीमा छ महिनासम्म मासिक घरभाडा उपलब्ध गराउने घोषणा गरेको छ । घोषणाअनुसार चार जनासम्म सदस्य भएको परिवारलाई प्रतिमहिना १५ हजार उपलब्ध गराउन थालिएको हो । चार जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना दुई हजारका दरले थप रकम उपलब्ध गराउने व्यवस्था छ ।
बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडाबापतको रकम वितरणका लागि लाभग्राही पहिचानको काम अन्तिम चरणमा पुगेको छ । ती स्थानीय तहले लाभग्राही यकिन भएपछि रकम वितरण सुरु गर्ने जनाएका छन् ।