मुख्यमन्त्री किरण थापा मगरसहित मन्त्रीहरू बाढी प्रभावित क्षेत्रमा सक्रिय, उद्धार–राहतमा बागमती सरकार

मुख्यमन्त्री किरण थापा मगरसहित मन्त्रीहरू बाढी प्रभावित क्षेत्रमा सक्रिय, उद्धार–राहतमा बागमती सरकार

शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • मुख्यमन्त्री किरण थापा मगरसहित मन्त्रीहरू बाढी प्रभावित क्षेत्रमा सक्रिय, उद्धार–राहतमा बागमती सरकार

    काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरसहित मन्त्रीहरू उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय भएका छन् ।

    बागमती प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीका अनुसार बाढी प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश सरकार परिचालित भएको छ ।

    मुख्यमन्त्री किरण थापा मगर, सम्बन्धित मन्त्रीहरू, प्रमुख सचिवसहित कर्मचारी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा स्थलगत रूपमा खटिएको प्रदेश सरकारले जनाएको छ ।

    प्रदेश सरकारले रसुवा र नुवाकोटका लागि दुई/दुई करोड रुपैयाँ तथा धादिङ र चितवनका लागि ५०/५० लाख रुपैयाँ गरी कुल तीन करोड रुपैयाँ उपलब्ध गराएको छ । बाढीमा मृत्यु भएकाका परिवारलाई प्रतिमृतक २५ हजार रुपैयाँका दरले राहत दिने निर्णयसमेत गरिएको छ ।

    भदौ ११ गते मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा प्रदेश सरकारको टोली रसुवाको धुन्चेतर्फ पुगेको थियो। मुख्यमन्त्रीकै उपस्थितिमा रसुवामा सर्वपक्षीय बैठक आयोजना गरी संघ, प्रदेश र स्थानीय तहबीच उद्धार तथा राहत कार्यमा समन्वय गरिएको थियो ।

    यस्तै नुवाकोटमा प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्यहरूको सहभागितामा यातायात व्यवस्था, पूर्वाधार तथा वैकल्पिक मार्ग निर्माण, स्वास्थ्य, राहत सामग्री वितरण र हवाई उद्धार समन्वयका लागि पाँचवटा कार्यदल गठन गरिएको छ ।

    बाढीका कारण ४० भन्दा बढी पुल भत्किएपछि वैकल्पिक यातायात सञ्चालनलाई तीव्रता दिइएको छ । धुन्चेदेखि महावीरसम्म, चौघडादेखि काठमाडौंसम्म र विदुरदेखि काठमाडौंसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको प्रदेश सरकारले जनाएको छ । 

    प्रदेश सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पठाउनुका साथै अस्पताल, यातायात र टेलिकम सेवा सञ्चालनका लागि रसुवाको धुन्चेमा इन्धनसमेत उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा थप १० जना प्रदेश सेवाका अधिकृत कर्मचारीलाई पनि खटाइएको छ ।

    प्रवक्ता एवं मन्त्री केसीले मुख्यमन्त्री किरण थापा मगरसहित मन्त्रिपरिषद्का सबै सदस्य प्रभावित नागरिकको साथमा रहेको र उद्धार, राहत तथा पुनःस्थापनाका काममा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij