वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म : किरण थापाको असाधारण राजनीतिक छलाङ

वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म : किरण थापाको असाधारण राजनीतिक छलाङ

मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म : किरण थापाको असाधारण राजनीतिक छलाङ

    भक्तपुर । करिब साढे चार वर्षअघि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष थिए–किरण थापा । स्थानीय तहमा वडाको नेतृत्व गरिरहेका उनी त्यसयता बागमती प्रदेशसभा सदस्य बने, दुईपटक प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले र अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बाटोमा पुगेका छन् । 

    नेपाली राजनीतिमा यति तीव्र गतिमा जिम्मेवारीको उचाइ चुम्ने नेताहरू कमै छन् । स्थानीय तहको नेतृत्वबाट प्रदेशको सर्वोच्च कार्यकारी पदसम्मको उनको यात्रा अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।

    नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै उनको राजनीतिक यात्राले अर्को महत्वपूर्ण मोड लिएको छ । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको हो ।

    मुख्यमन्त्रीका लागि एमालेभित्रै तीव्र प्रतिस्पर्धा र आन्तरिक छलफल चलिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत निरन्तर चासो र छलफलपछि थापाको नाममा सहमति जुटेको हो । पछिल्लो समय थापालाई अध्यक्ष ओलीका विश्वासपात्र नेताका रूपमा समेत हेर्ने गरिएको छ । एमालेभित्र उनको बढ्दो राजनीतिक प्रभाव र पार्टी नेतृत्वसँगको निकट सम्बन्धले पनि मुख्यमन्त्रीको दौडमा उनलाई बलियो बनाएको हो । तर थापाको राजनीतिक उचाइ एकैपटक बनेको होइन । 

    राप्रपाबाट एमाले, एमालेबाट सत्ताको केन्द्रसम्म
    किरण थापाको राजनीतिक पृष्ठभूमि भने अहिलेका दलबाट सुरु भएको होइन । उनी यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए । पछि नेकपा एमालेमा प्रवेश गरे ।

    एमालेमा प्रवेश गरेको १० वर्ष कट्दैगर्दा उनले पार्टीबाट धेरैवटा महत्वपूर्ण अवसर र जिम्मेवारी प्राप्त गरिसकेका छन् । स्थानीय राजनीतिमा सक्रिय थापा एमाले प्रवेश गरेपछि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष बने । जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाएपछि उनको राजनीतिक यात्रा स्थानीय तहबाट प्रदेश राजनीतितर्फ अघि बढ्यो ।

    साढे चार वर्षअघिसम्म वडाध्यक्ष रहेका उनी त्यसपछि बागमती प्रदेशसभामा पुगे । प्रदेशसभा सदस्य बनेपछि उनको राजनीतिक उचाइ अझ तीव्र गतिमा बढ्यो । प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । अझ रोचक कुरा–उनी दुईपटक स्वास्थ्य मन्त्री बने ।

    स्थानीय तहको वडाध्यक्षबाट प्रदेश सांसद, त्यसपछि दुईपटक मन्त्री र अब मुख्यमन्त्री । वडा अध्यक्षको कार्यकाल सकिएको करिब साढे चार वर्षको यो यात्रा हेर्दा थापाको राजनीतिक आरोहण असाधारण देखिन्छ ।

    स्वास्थ्य मन्त्रालयमा काम गर्ने अवसर
    थापाको राजनीतिक यात्रामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि महत्वपूर्ण अध्याय हो । स्वास्थ्य मन्त्रीका रूपमा उनले आफ्नो जिम्मेवारीलाई सकारात्मक ढंगले अघि बढाउने प्रयास गरेका थिए । प्रदेशमा काम गर्ने मन्त्रीका रुपमा उनको मात्रै चर्चा हुन्थ्यो । प्रदेशका स्वास्थ्य संस्था, स्वास्थ्य सेवा विस्तार र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने विषयलाई उनले प्राथमिकतामा राखेर काम गरेका थिए । 

    मन्त्रीका रूपमा छोटो समयमै प्रभाव देखाउने कार्य गर्न सफल रहेका कारण पनि पार्टी नेतृत्वले उनलाई महत्वपूर्ण जिम्मेवारीका लागि योग्य ठानेको एमाले नेताहरू बताउँछन् । 

    राजनीतिमा पद पाउनु एउटा कुरा हो, पाएको जिम्मेवारीमा आफ्नो उपस्थिति देखाउनु अर्को कुरा । थापाको हकमा स्थानीय तहदेखि प्रदेश सरकारसम्मका जिम्मेवारीले उनको राजनीतिक क्षमताको परीक्षण गर्ने अवसर दिएको देखिन्छ ।

    अंकगणितको चुनौती
    तर मुख्यमन्त्री बन्ने निर्णयसँगै थापासामु राजनीतिक चुनौती पनि उत्तिकै छन् । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

    कांग्रेससँग ३६, नेकपासँग २६ र एमालेसँग २५ सांसद छन् । राप्रपासँग १२, नेपाल मजदुर किसान पार्टीसँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन् । एमाले र नेकपा मिल्दा ५१ सांसद पुग्छन् । बहुमतका लागि अझै दुई सांसद आवश्यक पर्छ । त्यसमा एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले सरकार गठनको अंकगणितमा थप जटिलता देखिन्छ । त्यसैले थापाले मुख्यमन्त्रीको शपथ लिएपछि सरकार निर्माण र विश्वासको मत प्राप्त गर्ने काम पहिलो राजनीतिक परीक्षा हुनेछ ।

    ओलीको विश्वास र नयाँ जिम्मेवारी
    एमालेभित्र अध्यक्ष ओलीको निर्णय र विश्वास राजनीतिक अवसरका लागि महत्वपूर्ण मानिन्छ । थापाको हकमा पनि यही सम्बन्ध अहिले निर्णायक बनेको देखिन्छ ।

    मुख्यमन्त्रीका लागि एमालेभित्रै आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेका बेला अध्यक्ष ओलीले थापासहितका नेताहरूसँग निरन्तर छलफल गरेका थिए । अन्ततः संसदीय दलको बैठकले थापाको नाममा निर्णय गर्यो । 

    थापाले प्रदेशमा मिलनसार राजनीतिज्ञको छवी स्थापित गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij