महोत्तरी । वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही गरिने भएको छ । डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको दुई नम्बर प्लटका रुख काट्ने र रुखको फेदमा विषादी प्रयोग गरी रुख मार्ने विरुद्ध कडा कारबाही गर्न लागिएको हो । वरिष्ठ वन अधिकृत अजय मिश्रले १९५ वटा टिक जातका रुख र उक्त रुखको जरामा विषादी प्रयोग गरेको अनुसन्धानबाट बुझिन आएकाले वन माफिया खोज्न अनुसन्धान भइरहेको जानकारी दिए ।
अनुसन्धानबाट वन फडानी गर्न परिचालन भएको पहिचान नजिक पुगेका रेञ्जपोष्टका प्रमुख प्रेम उपाध्यायले जानकारी दिए । “हामीले घटनाको सुक्ष्म अनुसन्धान गरेका छौँ, वनका बिरुवा काट्ने र फेदमा विषादी हालेर जरासमेत डढाउनेहरुबारे जानकारी भएको छ”, उपाध्याय भन्छन्, “हामी प्रतिवेदन लेखन टुङ्ग्याउँदैछौँ, यो प्रतिवेदन डिभिजन वन कार्यालय पुग्नासाथ कारबाही सुरु हुन्छ ।”
परियोजनाको बर्दिवास रेञ्जपोष्टको प्रतिवेदनका आधारमा मुद्दा डिभिजन वन कार्यालयले चलाउने उपाध्यायले स्पष्ट पारे । बर्दिवास नगर कार्यपालिकाको कार्यालयले पर्ति जग्गा भोगचलन गर्दै आएकाहरुलाई सेतो निस्सा दिने घोषणा गरेबीच वन उजाडेर आफ्नो भोग देखाउन यस प्रकारको अपराध गरेको हुनसक्ने आशङ्का यहाँका स्थानीयले गरेका छन् । घटनामा सामेल हुनेलाई अनुसन्धान गरी कडा कारबाही हुने बर्दिवास–२ का वडाध्यक्ष श्यामराजा सिंह बताउछन्।