कांग्रेस महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र, निर्वाचन प्रक्रिया पनि सुरु

कांग्रेस महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र, निर्वाचन प्रक्रिया पनि सुरु

सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • कांग्रेस महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र, निर्वाचन प्रक्रिया पनि सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज (सोमबार) बन्दसत्र सुरु हुँदैछ । काठमाडौंको खुलामञ्चमा आइतबार उद्घाटन समारोह सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु हुन लागेको हो ।

    बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनसमेत पेस हुनेछन् ।

    बन्दसत्रमा करिब ७ हजार ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराउने तयारी छ ।

    यसैबीच, नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजैदेखि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । साँझ ५ देखि ६ः३० बजेसम्म दाबीविरोधको समय तोकिएको छ भने राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    असोज २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुनेछ । सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबीविरोध र साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

    असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि दिनभर प्रचारप्रसार गर्न पाइनेछ ।

    त्यसपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुने निर्वाचन समितिले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ ।

    आइतबारदेखि सुरु भएको महाधिवेशनमा शेरबहादुर देउवा समूहको भने सहभागिता रहेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij