कांग्रेस महाधिवेशन उद्घाटनमा कुन दलबाट को सहभागी हुँदैछन् ?

कांग्रेस महाधिवेशन उद्घाटनमा कुन दलबाट को सहभागी हुँदैछन् ?

आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • कांग्रेस महाधिवेशन उद्घाटनमा कुन दलबाट को सहभागी हुँदैछन् ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ । उद्घाटन समारोहमा सहभागी हुन कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । तर, निमन्त्रणा गरिएका सबै दलका शीर्ष नेताहरू भने सहभागी नहुने भएका छन् ।

    कांग्रेसका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी हुने तयारी छ । उनले समारोहमा शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको बताइएको छ ।

    नेकपा एमालेबाट भने अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । ओलीका बुवाको निधनपछि बरखीमा रहेकाले उनी महाधिवेशन उद्घाटनमा सहभागी नहुने भएका हुन् । उनको स्थानमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुने र शुभकामना मन्तव्य दिने एमालेले जनाएको छ ।

    नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन् । प्रचण्डले कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । गृहजिल्ला झापामा रहेका लिङ्देन आजै काठमाडौं आएर समारोहमा सहभागी हुने बताइएको छ ।

    यता जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । यादवले पार्टीका सहअध्यक्ष शरतसिंह भण्डारीलाई आफ्नो प्रतिनिधिका रूपमा पठाउने उनको सचिवालयले जनाएको छ ।

    यसैगरी कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवालाई पनि महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा गरेको छ । देउवा उपस्थित भए उनले नै महाधिवेशन उद्घाटन गर्नेछन् । उनी अनुपस्थित रहे कांग्रेस सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

    कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा स्वदेश तथा विदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समेत निमन्त्रणा गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij