काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै टोलीहरू अहिले आन्तरिक तयारीमा व्यस्त छन् । घरेलु खेलाडीको टुङ्गो लगाइसकेका उनीहरू हाल विदेशी खेलाडी भित्र्याउने तयारी गरिरहेका हुन् ।
केही फ्रेन्चाइज टोलीले विदेशी कोटाबाट भित्र्याउन पाउने खेलाडीको नाम सार्वजनिक गरेका छन् । टिमहरूले अहिलेसम्म पुरानै खेलाडीलाई अनुबन्ध गरेका छन् ।
अहिलेसम्म कुन टोलीमा को विदेशी खेलाडी?
सुदूरपश्चिम रोयल्स
पछिल्लो दुई सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले इंग्ल्याण्डका सेफ अली जैब र न्यूजील्याण्डका स्कट कुगेलेइनलाई अनुबन्ध गरिसकेको छ । यी दुई खेलाडीले लगातार तेस्रोपटक एनपिएल खेल्न लागेका हुन् । कुगेलेइनले पहिलो र दोस्रो सिजन सुदूरपश्चिमका लागि खेलेका थिए ।
सेफ पहिलो संस्करण सुदूरपश्चिम र गत सिजन चितवन राइनोजको जर्सीमा मैदान उत्रिएका थिए । उनीहरू दुवैले एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सेफ पहिलो सिजनमा लिगकै सर्वोकृष्ट खेलाडी घोषित भएका थिए । यस्तै, कुगेलेइनका लागि पनि अहिलेसम्मको एनपिएल करियर उत्कृष्ट छ । उनी एनपिएलमा हालसम्म सर्वाधिक विकेट लिने बलरको सूचीको शीर्ष स्थानमा छन् ।
स्कटले १७ खेल खेल्दा ६।४७ को इकोनमी रेटमा सर्वाधिक २७ विकेट लिएका छन् । यस्तै, सेफ अलीले हालसम्म एनपिएलमा १६ खेल खेल्दा १३६।२९ को स्ट्राइक रेटमा ३ सय ९१ रन बनाउका छन् ।
सुदूरपश्चिम रोयल्सले फेरि स्कट र सेफलाई अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएको छ । टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले उनीहरूलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
जनकपुर बोल्ट्स
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले अहिलेसम्म एकजना विदेशी खेलाडीलाई मात्र अनुबन्ध गरेको छ । उसले भारतीयमूलका अमेरिकन अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेको हो ।
उनले पनि लगातार तेस्रोपटक एनपिएल खेल्न लागेका हुन् । हरिमतले पहिलो र दोस्रो सिजनको एनपिएल सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । जहाँ उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
हरमितले हालसम्म एनपिएलमा १४ खेलमा २० विकेट लिनुका साथै १६१ रन बनाएका छन् । उनी यसपटक जनकपुरका लागि पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छन् । जनकपुरले हरमितलाई कप्तानको रूपमा टिममा अनुबन्ध गरेको हो ।
जनकपुरका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नयाँ ऊर्जा, सोच र संकल्पसहित अघि बढ्ने लक्ष्यका साथ विदेशी खेलाडीलाई कप्तानी दिइएको बताए ।
“हरेक सफल टोलीको आधार उत्कृष्ट खेलाडी मात्र होइन, सशक्त नेतृत्व पनि हो । नयाँ सिजनसँगै जनकपुर बोल्ट्स नयाँ ऊर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ अगाडि बढ्ने तयारी गरिरहेको छ । यही यात्राको नेतृत्व गर्ने जिम्मेवारी हामीले हर्मितलाई सुम्पिएका छौँ”, खतिवडाले भने ।
लुम्बिनी लायन्स
गत संस्करणको एनपिएल विजेता लुम्बिनी लायन्सले पनि अहिलेसम्म एकजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । उसले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो ।
उनले एनपिएल २०२५ पनि लुम्बिनीबाटै खेलेका थिए । टोलीलाई उपाधि जिताउन डिकवेलाको भूमिका अहम् रहेको थियो । उनी टोलीमा जोडिएपछि लुम्बिनीले लगातार ६ खेलमा जित निकालेको थियो
हालसम्म डिकवेलाले लुम्बिनीका लागि ६ खेलमा १३७ रन बनाएका छन् । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले डिकवेलाबाट यसपटक पनि उत्कृष्ट प्रदर्शन आशा राखेको प्रतिक्रिया दिए ।
‘‘गत सिजनमा उनले टोलीलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। डिकवेला च्याम्पियन खेलाडी हुन्, किनभने उनले लुम्बिनी लायन्सबाट खेल्दा कुनै खेल हारेका छैनन् । आगामी सिजन पनि उनले यही भूमिका निभाउने अपेक्षा लायन्सको रहेको छ’’, जिसीले भने । लुम्बिनीले बाँकी विदेशी खेलाडी पनि छिट्टै अनुबन्ध गर्ने जनाएको छ ।
चितवन राइनोज
पहिलो उपाधिको खोजीमा रहेको चितवन राइनोजले आसन्न संस्करणको एनपिएलका लागि विदेशी कोटाबाट अहिलेसम्म एक जना खेलाडी भित्र्याएको छ । उसले इंग्ल्याण्डका अनुभवी अलराउन्डर रवि बोपारालाई अनुबन्ध गरेको हो । उनले लगातार तेस्रोपटक चितवनबाट एनपिएल खेल्न लागेका हुन् ।
रविले हालसम्म एनपिएलमा १५ खेलमा ५२३ रन बनाएका छन् । उनी एनपिएलमा सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । चितवनले यसपटक प्रशिक्षकमा विदेशी पूर्वक्रिकेटरलाई नियुक्त गरेको छ । उसले पाकिस्तानका पूर्वतीव्र गतिका बलर सोहेल तनवीरलाई नियुक्त गरेको हो । उनी पछिल्लो दुई संस्करणको एनपिएलमा खेलाडीको रूपमा चितवन राइनोजमा जोडिएका थिए ।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपिएलका लागि विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको छ । उसले श्रीलङ्काका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । मेन्डिसको अन्तरराष्ट्रिय अनुभव, प्राविधिक ज्ञान र नेतृत्व क्षमताले टोलीलाई नयाँ उचाईमा पुर्याउने टोलीको विश्वास छ ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले भने, ‘‘मेन्डिस जोडिएपछि टिमको प्रदर्शन सुधार हुनुका साथै युवा खेलाडीको विकासमा पनि टेवा पुग्ने विश्वास छ ।’’,
पोखराले अहिलेसम्म विदेशी खेलाडीको रूपमा श्रीलङ्काकै अलराउण्डर धनञ्जय लक्षणलाई अनुबन्ध गरेको छ । उनी दोस्रोपटक पोखराका लागि एनपिएल खेल्न लागेका हुन् । लक्षणले गत संस्करणमा तीन खेलमा १० विकेट लिनुका साथै ५३ रन बनाएका थिए । सोही कारण पोखराले फेरि उनलाई अनुबन्ध गरेको हो ।
काठमाडौँ गोर्खाज, विराटनगर किंग्स र कर्णाली याक्सले भने अहिलेसम्म तेस्रो सिजनको एनपिएलका लागि एक जना पनि विदेशी खेलाडीको नाम सार्वजनिक गरेका छैनन् । खेलाडीसँग सम्झौताको विषयमा छलफल जारी रहेकाले केही दिनमा नाम सार्वजनिक गर्ने उनीहरूको तयारी छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार तेस्रो संस्करणको एनपिएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ । लिगको खेल तालिका सार्वजनिक हुन बाँकी छ । यसपालि पनि एनपिएलमा आठवटा टोलीको सहभागिता रहने छ ।