बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय स्तरमा पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्दै गाउँठाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका छन् ।
बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले भैरवस्थान क्षेत्र पर्यटन, कृषि र रोजगारीका दृष्टिले उच्च सम्भावना बोकेको क्षेत्र भएको बताए ।
बाइसे–चौबिसे राज्यकालदेखि नै ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । मुक्तिनाथ आउने पर्यटकको केही हिस्सालाई समेत बागलुङका भैरवस्थानलगायतका पर्यटकीय स्थलमा आकर्षित गर्न सके यस क्षेत्रको आर्थिक विकासमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो ।
“मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि बागलुङका भैरवस्थान लगायतका पर्यटकीय स्थलहरूमा आकर्षित गर्न सकिए यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्नेछ,” उनले भने ।
ढकालले पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा बस्ने वातावरण बनाउन गुणस्तरीय होटल, रिसोर्ट र होमस्टेलगायतका पर्यटन पूर्वाधार विस्तार गर्नुपर्ने बताए । स्थानीय तहबाट केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणमा सहयोग भए छोटो समयमै सकारात्मक परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो ।
यसैगरी, नेपालभित्रै स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले महासङ्घको ढोरपाटन बैठकको निर्णयअनुसार १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक लगानी कम्पनी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
कम्पनीले पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रविधिका क्षेत्रमा लगानी भित्र्याउने काम सुरु गरिसकेको ढकालले बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।