मनसुनका कारण विभिन्न सडक प्रभावित, कुन सडकको अवस्था कस्तो ?

मनसुनका कारण विभिन्न सडक प्रभावित, कुन सडकको अवस्था कस्तो ?

मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • मनसुनका कारण विभिन्न सडक प्रभावित, कुन सडकको अवस्था कस्तो ?

    काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरो, लेदो तथा सडक भासिएका कारण देशका विभिन्न स्थानका सडकखण्ड प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाका १२ सडकखण्डमा आवागमन प्रभावित भएको छ ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी (बिपी राजमार्ग) मा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधनको आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । 

    नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म सवारीसाधन सञ्चालन हुने व्यवस्था गरिएको छ । “त्यसैगरी मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारीसाधनको आवागमन रोक लगाइएको छ ।”, 

    विज्ञप्तिमा भनिएको छ, “नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।”

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरोबाट ढुङ्गा, माटोसहितको लेदो खसेर सडक अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    “रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको छ ।”,
    विज्ञप्तिमा भनिएको छ, “सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडास्थित कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा करिब १० मिटर सडक भासिएपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।”

    प्रहरीका अनुसार लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित बेँसीसहर–मनाङ सडकखण्डमा अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित समर खोला र घ्याकर खोलामा लेदोसहितको बाढी आएपछि जोमसोम–कोरला सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित भालुखोलामा सुक्खा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–२ साइलीमाइली मोडस्थित सहिद मार्गमा राति परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । मनसुन सक्रिय रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुँदा पहिरो, बाढी, डुबान तथा सडक अवरोधको जोखिम बढेको भन्दै प्रहरीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

    साथै, सडकको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij