भक्तपुर । नेपालमा अंग प्रत्यारोपण सेवा विस्तार हुँदै गए पनि यस क्षेत्रमा सबैभन्दा ठूलो जिम्मेवारी बोकेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा मात्रै २०२ जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गर्दै आफ्नो १४ वर्षे इतिहासमै एकै वर्षमा सबैभन्दा धेरै प्रत्यारोपण गरेको रेकर्ड बनाएको हो ।
नेपालमा मिर्गौला प्रत्यारोपण सेवा अझै सीमित अस्पतालमा उपलब्ध रहेको अवस्थामा यो उपलब्धिलाई देशको प्रत्यारोपण सेवामा एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । केन्द्रका अनुसार प्रत्यारोपण कार्यक्रमको नेतृत्व डा. दीपेश श्रेष्ठको टोलीले गरेको थियो ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले यस सफलताले प्रत्यारोपण सेवामा संलग्न सम्पूर्ण जनशक्तिको मेहनत र समन्वयलाई प्रतिबिम्बित गरेको बताएकी छन् । उनका अनुसार चिकित्सक, नर्स, प्राविधिक, प्रत्यारोपण संयोजक तथा सहयोगी कर्मचारीहरूको निरन्तर प्रयासकै कारण एक वर्षमा यति धेरै प्रत्यारोपण सम्भव भएको हो ।
मिर्गौला प्रत्यारोपणसँगै नेफ्रोलोजी विभागको नेतृत्व डा. लुसन सिंह, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा डा. आरती राई, रेडियोलोजी सेवा डा. कृष्ण बुढाथोकी तथा प्रत्यारोपण संयोजन तारा साँध नेतृत्वको टोलीले सम्हालेका थिए । नर्सिङ सेवामा सनिषा कार्की नेतृत्वको टोली, साथै प्याथोलोजी प्रयोगशाला र अस्पताल फार्मेसीको सहकार्यले प्रत्यारोपण प्रक्रियालाई निरन्तर सहयोग पुर्याएको केन्द्रले जनाएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विगत केही वर्षदेखि अंग प्रत्यारोपण सेवामा नयाँ अभ्यासहरू पनि सुरु गर्दै आएको छ । देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरेको केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुआत गरी अंगदान संस्कृतिलाई विस्तार गर्ने प्रयाससमेत गरेको छ । अंगदान तथा प्रत्यारोपणसम्बन्धी कानुनी व्यवस्था परिमार्जनमा समेत केन्द्रले भूमिका खेलेको जनाएको छ ।
केन्द्रका तथ्यांकअनुसार स्थापना भएको १४ वर्षको अवधिमा ९९ प्रतिशतभन्दा बढी सफलता दर कायम राख्दै हालसम्म १ हजार ६७० जनाको मिर्गौला र ३७ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको छ । आफ्नै भवन र पर्याप्त पूर्वाधारको अभाव हुँदाहुँदै पनि नेपालभर हुने कुल प्रत्यारोपणमध्ये करिब दुई तिहाइ सेवा यही केन्द्रबाट प्रदान हुँदै आएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिइन् ।
स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा विस्तारसँगै प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको अवस्थामा केन्द्रको पछिल्लो उपलब्धिलाई नेपालमै उच्चस्तरीय अंग प्रत्यारोपण सेवा सम्भव रहेको सन्देशका रूपमा पनि हेरिएको छ । केन्द्रले आगामी दिनमा सेवा क्षमता थप विस्तार गर्दै अझ सुरक्षित, प्रभावकारी र गुणस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।