भक्तपुर । मध्यपुर थिमी नगरपालिका–८, बोडेस्थित द्योमा जगत् वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसहित ६० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार मध्यपुर क्रियटिभ ग्रुपको आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा वृद्धाश्रममा रहेका ३० जना र वृद्धाश्रमबाहिरका ३० जना गरी ६० जना ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

‘सेवा नै धर्म हो’ भन्ने मूल भावनाका साथ आयोजना गरिएको शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न रोगका विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणपछि आवश्यकताअनुसार औषधिसमेत वितरण गरिएको आयोजक ग्रुपका सदस्य सुशन श्रेष्ठले जानकारी दिए ।
शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. योगेश कायष्ठ, न्यूरो विशेषज्ञ डा. सजन पाण्डे र इन्टरनल मेडिसिन विशेषज्ञ डा. राजेन्द्र श्रेष्ठलगायत चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए ।

शिविरमा चिकित्सकहरूले ईसीजी (ECG) तथा ब्लड सुगर (Blood Sugar) परीक्षण गर्नुका साथै ज्येष्ठ नागरिकलाई स्वास्थ्यसम्बन्धी आवश्यक सुझाव र परामर्शसमेत दिएका थिए । स्वास्थ्य परीक्षणका क्रममा देखिएका समस्याका आधारमा थप उपचारका लागि आवश्यक सुझाव दिइएको डा. राजेन्द्र श्रेष्ठले बताए ।

मध्यपुर थिमी–८, बोडेमा सम्पन्न शिविरलाई स्वनिगः हेल्थ केयर क्लिनिकले प्राविधिक सहयोग गरेको थियो ।
मध्यपुर क्रियटिभ ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविरलगायतका सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक कृष्णभक्त श्रेष्ठले बताए ।
