काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिने क्रम शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको सबै भूभाग तथा लुम्बिनी र गण्डकी प्रदेशको केही भूभागबाट मनसुन बाहिरिएको छ ।
बाँकी भूभागमा पनि मनसुनी वायु कमजोर हुँदै गएकाले केही दिनमै बाहरिने विभागले जनाएको छ । मनसुनका बेलामा नेपालमा पूर्वबाट पश्चिमतर्फ हावा बहने गरेकोमा अब पश्चिमबाट पूर्वतर्फ वहन थालेको छ ।
नेपालमा सरदर अक्टोबर २ तारिखमा मनसुनी प्रणाली बाहिरिने गरेको छ । यस वर्ष औसत मितिकै आसपास मनसुन बाहिरिन थालेको छ । गएको वर्ष अक्टोबर १० तारिखमा मनसुन बाहिरिएको थियो ।