भक्तपुर । काठमाडौंको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि उक्त पुलबाट आवागमनमा रोक लगाइएको छ।
पुलसँगै रहेको ग्याविन जालीको भाग भासिएपछि जोखिम बढेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । अविरल वर्षाका कारण भक्तपुरका विभिन्न खोलामा पानीको सतहसमेत बढेको छ ।
भक्तपुरको डेकुचा हुँदै चाँगुनारायणतर्फ जाने सडकमा खस्याङ खुसुङ खोलाको बहाव बढेर सडकसम्म पुगेको छ । यस्तै, लोकन्थलीनजिकै सागबारीमा नदीको सतह बढेर अस्थायी टहरासम्म पुगेपछि प्रहरीले त्यहाँ बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ । उनीहरूलाई नजिकैको आदर्श जनप्रेमी स्कुलमा राखिएको छ ।
बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला मिसिने त्रिवेणी क्षेत्र हो । बिहीबारदेखि देशभर निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलाको जलसतह बढेसँगै जोखिमसमेत बढेको छ ।