भक्तपुर । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्। बजार मूल्यभन्दा निकै बढी रकममा ग्यास बिक्री गरेको आरोपमा चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकबाट ५७ वर्षीय तुलसीराम त्वयना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार त्वयनाले आफ्नै नाममा सञ्चालन गर्दै आएको ‘त्वयना किराना पसल’बाट एलपी ग्यासको एउटा सिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गर्दै आएका थिए। ग्यास कालोबजारी भइरहेको भन्ने विशेष सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले पसलमा अनुगमन तथा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा पसलमा तीन थान ग्यास सिलिन्डर फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि बजार मूल्यभन्दा अत्यधिक महँगोमा ग्यास बिक्री गरी कालोबजारी गरेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीका अनुसार पक्राउ परेका त्वयनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले बजारमा ग्यासलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्यविरुद्ध निगरानी बढाएको जनाएको छ।