भक्तपुर । ‘राष्ट्रका लागि २ घण्टा’ अभियानले वातावरणीय स्वच्छतालाई जनस्वास्थ्यसँग जोड्दै आफ्नो अभियानलाई थप व्यापक बनाउने घोषणा गरेको छ। मध्यपुर थिमी–५ राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शुक्रबार आयोजित संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा कार्यशाला गोष्ठीमा अभियानलाई स्वच्छता, हरियाली, स्वस्थ जीवनशैली, व्यवहार परिवर्तन र जिम्मेवार नागरिक निर्माणसँग जोडेर अघि बढाउने प्रतिबद्धता जनाइएको हो।
कार्यक्रमको पहिलो सत्रमा ‘स्वास्थ्य प्रवर्द्धनका लागि वातावरणीय स्वास्थ्यको वर्तमान अवस्था, समस्या तथा चुनौती’ विषयमा विषयविज्ञबीच छलफल तथा अन्तरक्रिया भएको थियो। दोस्रो सत्रमा संस्थाको वार्षिक प्रगति, अध्यक्षको प्रतिवेदन, आर्थिक विवरण तथा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेटमाथि छलफल गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री किरण थापाले वातावरणीय समस्या केवल वातावरण संरक्षणको विषय नभई प्रत्यक्ष रूपमा जनस्वास्थ्यसँग जोडिएको बताए। प्रदूषित हावा, अव्यवस्थित फोहोर, दूषित पानी, प्लास्टिकजन्य प्रदूषण, धुलो–धुवाँ तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको उनले बताए।

जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काले रोग लागेपछि उपचार गर्नुभन्दा रोगका वातावरणीय कारण न्यूनीकरण गर्नु प्रभावकारी हुने बताइन्। उनले स्वच्छ पानी, सफा बस्ती, सुरक्षित खाद्य व्यवहार, विद्यालयको स्वच्छ वातावरण तथा समुदायस्तरको स्वास्थ्य सचेतनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
सूर्यविनायक नगर अस्पतालका सुपरिटेण्डेन्ट प्रा.डा. राकेश बर्माले वातावरणीय जोखिमका कारण स्वास्थ्य संस्थामाथि बढिरहेको भार कम गर्न उपचारसँगै रोकथाममुखी अभियान आवश्यक रहेको बताए। अस्पतालमा आउने स्वास्थ्य समस्याको ठूलो हिस्सा जीवनशैली, प्रदूषण तथा अस्वस्थ वातावरणसँग सम्बन्धित हुने भएकाले स्थानीयस्तरमै स्वस्थ वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, अस्पतालका सूचना अधिकारी डा. मनिषा कार्कीले वातावरणीय स्वास्थ्यका विषयमा तथ्यमा आधारित सूचना र जनचेतनाको भूमिका महत्वपूर्ण रहेको बताइन्। भक्तपुर अस्पतालका रेडियोलोजिष्ट डा. अम्बिका पोखरेलले धुलो, धुवाँ र प्रदूषणले विशेषगरी श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी स्वास्थ्यमा पार्न सक्ने दीर्घकालीन असरप्रति नागरिक सचेत हुनुपर्ने बताइन्।
जीवन विज्ञानका योग प्रशिक्षक सुरेन्द्रमान बिजुक्छेले स्वस्थ वातावरणसँग स्वस्थ जीवनशैलीलाई जोड्दै योग, श्वास–प्रश्वास अभ्यास, नियमित शारीरिक सक्रियता तथा प्रकृतिसँगको सन्तुलित सम्बन्धलाई दैनिक जीवनको संस्कार बनाउनुपर्ने धारणा राखे।

१ हजार ८ सयभन्दा बढी बिरुवा रोपण
आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदनअनुसार अभियानले सूर्यविनायक, मध्यपुर थिमीलगायत विभिन्न क्षेत्रमा १ हजार ८ सयभन्दा बढी बिरुवा रोपण गरेको छ। रोपिएका बिरुवाको संरक्षण, गोडमेल तथा नियमित अनुगमनलाई समेत अभियानले प्राथमिकता दिएको जनाएको छ।
अभियानले हरेक शनिबार अरनिको राजमार्ग तथा विभिन्न सार्वजनिक स्थलमा सरसफाइ गर्दै आएको छ। प्रतिवेदनअनुसार करिब २ हजार ५ सय जनाको सहभागितामा ३५ टनभन्दा बढी फोहोर संकलन तथा व्यवस्थापन गरिएको छ। चाँगुनारायण मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक स्थलको सरसफाइमा समेत अभियानले सहभागिता जनाएको छ।
विद्यालयलाई वातावरणीय संस्कारको केन्द्र बनाउने
अभियानले विद्यालयलाई वातावरणीय व्यवहार विकासको केन्द्रका रूपमा अघि बढाएको छ। सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमीका विभिन्न विद्यालयमा शिक्षक अभिमुखीकरण, विद्यार्थीका लागि वृक्षारोपण तथा वातावरणीय व्यवहारसम्बन्धी अभ्यास, मल–माटो व्यवस्थापन, तरकारी तथा फूलखेतीलगायतका कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक सचेतना तथा वन कार्यालय र जिल्ला समन्वय समितिको सहयोगमा वृक्ष संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।
विश्व वातावरण दिवसका अवसरमा ‘प्रकृतिबाट प्रेरणा लिऔँ, जलवायु परिवर्तनसँग लडौँ’ भन्ने सन्देशसहित सानोठिमीबाट नगरकोटसम्म विद्युतीय सवारीसहितको वातावरणमैत्री र्यालीसमेत आयोजना गरिएको थियो।
आगामी वर्ष २२ लाख ६० हजारको बजेट
साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. २२ लाख ६० हजारको प्रस्तावित बजेट पारित गर्ने प्रस्ताव अघि सारेको छ। बजेटमा वातावरण तथा स्वास्थ्य, वातावरणमैत्री विद्यालय तथा विद्यार्थी कार्यक्रम, वृक्षारोपण तथा वृक्ष संरक्षण, नियमित सरसफाइ, सचेतनामूलक कार्यक्रम, विश्व वातावरण दिवस तथा संस्थागत विकासलाई प्राथमिकता दिइएको छ।
बजेटका सम्भावित स्रोतमा सदस्यता शुल्क तथा नवीकरण, सहयोग, चन्दा–दान, स्थानीय तथा प्रदेश सरकार, डिभिजन वन कार्यालय, साझेदार संस्था तथा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (CSR) समावेश गरिएको छ।
आगामी वर्ष वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण, गोडमेल र मलजललाई प्राथमिकता दिने अभियानले जनाएको छ। सरसफाइ अभियानलाई सार्वजनिक स्थल, धार्मिक क्षेत्र, नदी–खोला, सडक तथा सामुदायिक क्षेत्रसम्म विस्तार गर्ने योजना पनि अघि सारिएको छ।
विद्यालयमा प्लास्टिक न्यूनीकरण, फोहोर वर्गीकरण, कम्पोस्ट मल निर्माण तथा व्यवहारिक वातावरण संरक्षण कार्यक्रमलाई थप विस्तार गरिनेछ। वातावरणीय स्वास्थ्य, सरसफाइ, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा स्वास्थ्य सचेतनालाई समुदायस्तरमा पुर्याउने नीति पनि अघि सारिएको छ।

साधारणसभाले ‘दुई घण्टा राष्ट्रका लागि, उज्यालो भविष्य सबैका लागि’ भन्ने आदर्श वाक्यलाई आगामी वर्षको मूल नाराका रूपमा अनुमोदन गरेको छ।
अभियानका अध्यक्ष मधु ढुङ्गेलले सीमित स्रोतसाधनका बाबजुद स्थानीय तह, विद्यालय, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था र स्वयंसेवकको सहकार्यमा अभियानका गतिविधि अघि बढाउन सफल भएको बताए। उनले आगामी दिनमा अभियानलाई अझ व्यापक जनसहभागितासहित स्वच्छ, हरित, स्वस्थ र जिम्मेवार समाज निर्माणको साझा अभियानका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
अभियानका महासचिव नवराज काफ्लेले वातावरणीय अभियान कार्यक्रमको सूचीमा मात्र सीमित नभई नागरिक चेतना र व्यवहार परिवर्तनको निरन्तर यात्रा भएको बताए।
तेस्रो वार्षिक साधारणसभाले अभियानको आगामी चुनौती कार्यक्रमको संख्या बढाउनु मात्र नभई त्यसबाट दिगो परिणाम र नागरिकको व्यवहारमा परिवर्तन ल्याउनु रहेको निष्कर्ष निकालेको छ। वृक्षारोपणपछि बिरुवा जोगाउने, सरसफाइपछि फोहोर नफाल्ने, प्लास्टिकको प्रयोग घटाउने तथा वातावरण संरक्षणलाई स्वास्थ्यसँग जोड्ने अभ्यासलाई प्रभावकारी बनाउनेतर्फ अभियान केन्द्रित हुने जनाएको छ।
कार्यक्रममा अभियानका सल्लाहकार जुना बस्नेत, अञ्जनादेवी मधिकर्मी, भागिरथा सिटौला, पत्रकार, पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका अभियन्ताहरूको सहभागिता थियो। कार्यक्रमको दोस्रो सत्र सचिव चन्द्रकृष्ण श्रेष्ठले सञ्चालन गरेका थिए भने उपाध्यक्ष जयराज पौडेलले स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए।
