काठमाडौ । राजधानी काठमाडौं जोड्ने प्रमुख मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो पन्छाएपछि यातायात सुचारु भएको छ। बुधबार बिहान सडक खण्डको सिमलताल नजिकै पहिरो खस्दा सडक पुर्णरूपमा अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरले डोजर प्रयोग गरेर अवरुद्ध सडक खुलाएको हो । सडक खुलेसँगै तीन घण्टादेखि बाटोमै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ गुड्न थालेको प्रहरीले जनाएको छ ।
वर्षायामको समयमा यस क्षेत्रमा पटक–पटक पहिरो जाने जोखिम रहने हुनाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । बिहानै पहिरो खसेपछि सडकको दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द हुँदा सयौं सवारीसाधन र र हजारौ यात्रु बीच बाटोमै रोकिएका थिए।