सांस्कृतिक र धार्मिक वैभवले सम्पन्न चाँगुनारायण नगरपालिका

सांस्कृतिक र धार्मिक वैभवले सम्पन्न चाँगुनारायण नगरपालिका

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • सांस्कृतिक र धार्मिक वैभवले सम्पन्न चाँगुनारायण नगरपालिका

    डा. घनश्याम खतिवडा
    ऐतिहासिक एवं पुरातात्विक महत्वले परिचित भक्तपुर जिल्लाका नगरपालिकाहरू मध्ये पुरातात्विक ऐतिहासिक पौराणिक महत्वका दृष्टिले मात्र नभई पर्यावरणीय दृष्टिकोणले समेत विशेष नगरपालिका हो चाँगुनारायण । नेपाल सरकारको मिति २०७३ फागुन २७ गतेको निर्णय अनुसार साविक नगरकोट र चाँगुनारायण नगरपालिकालाई समेटेर यो नगरपालिका घोषणा गरिएको हो । विश्व सम्पदा सूचीमा सुचीकृत लिच्छवीकालीन सुप्रसिद्ध चाँगुनारायण मन्दिरसहित अन्य विविध धार्मिक पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरू समेतले सजिसजाउ यो नगरपालिकामा प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ । वन जंगलले घेरिएको पर्यटकीय स्थल नगरकोट समेत यही नगर क्षेत्रभित्र पर्दछ । नगरकोटमा पर्यावरणीय सूर्योदय, सूर्यास्त एवं हिमाली मनोरम दृश्यावलोकनका अलवा चाँगुनाराण नगरपालिकाभित्र विविध प्राकृतिक सांस्कृतिक एवं धार्मिक सम्पदाहरू रहेका छन् ।

    यहाँ घुम्ने, अवलोकन गर्ने, अध्ययन अनुसन्धान गर्ने थुप्रै स्थलहरू छन । यहाँको प्रसिद्ध पर्यटकीय स्थल नगरकोट समुन्द्री सतह देखि २१९५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा चिसो वातावरण भइरहने नगरकोटबाट मौसम सफा भएको बेला उत्तर  दिशामा मनमोहक हिमालका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत रोमाञ्चक दृश्य देख्न सकिन्छ । 

    नगरकोटबाट धवलागिरि, कञ्चनजङ्गा, मनासलु, गणेश हिमाल, लाङटाङ, गौरीशकर, चोयू, लोत्से, मकालु लगायतका हिमश्रृखलाहरू हेर्न सकिन्छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० किलोमिटर दुरीमा अवस्थित नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि गर्मी छल्ने एउटा उपयुक्त स्थान बनेको छ । यहाँ शीतल मौसमको अनुभूति सहित घुम्ने रमणीय स्थलहरू रहेकोले यस क्षेत्रको भ्रमणले शरीरमा बेग्लै प्रकारको रोमाञ्चकता पैदा गर्दछ । 

    नगरकोटबाट देखिने उत्तरतर्फका हिमाली शिखरहरूले बिहान बेलुकी सुनौलो रंग फेर्दा पर्यटकहरूको मन निकै आनन्दित हुने गर्दछ । हरेक व्यक्तिको दिक्दारलाग्दो जीवनशैली काठमाडौं उपत्यका लगायत शहरी परिवेशको कोलाहलपूर्ण वातावरणको जीवनलाई केही थाती राख्दै प्रकृतिको सुरम्यतासँग भलाकुसारी गर्न चाहने सबैका लागि नगरकोट एक उत्कृष्ट गन्तव्य बनेको छ । यसै अवस्थालाई थप प्रचार गर्न २०८२ साललाई नगरकोट भ्रमण वर्षको रुपमा मनाउने निर्णय भई अघि बढेको छ ।

    काठमाडौं उपत्यकाभित्रको ज्यादै नजिकबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थल नगरकोट प्राकृतिक सौन्दर्य मात्र नभई ऐतिहासिक, पौराणिक। धार्मिक तथा सांस्कृतिक विविधतायुक्त क्षेत्र पनि हो । विश्व प्रसिद्ध सम्पदा चाँगुनारायण मन्दिर लगायत यस नगरपालिकाभित्र नगरकोट क्षेत्रमा समेत गरी सयौ पर्यटकीय स्थल रहेका छन । ल्बनबचपयत ष्क mयचभ तजबल क्गलचष्कभ भन्ने नाराका साथ आरम्भ भएको नगरकोट भ्रमण वर्षमा नगरकोट लगाएत चाँगुनारायण नगरपालिकाभित्र विविध सम्पदा र संस्कृतिको पहिचान र प्रसार मुख्य लक्ष्य राखिएको छ ।

    नगरकोट
    नगरकोट समुन्द्री सतहबाट १३७२ देखि २१९५ मिटरसम्मको उचाइमा रहेको चाँगुनारायण नगरपालिकाको एउटा स्थान हो । पूर्वमा मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका काभ्रे, पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, मध्यपुर नगरपालिका ठिमी भक्तपुर, उत्तरमा शंखरापुर नगरपालिका काठमाडौं र दक्षिणमा सूर्यविनायक नगरपालिका भक्तपुर यसको सीमाना रहेको छ । चाँगुनारायण नगरपालिकाको वडा नं ६ मा नगरकोट क्षेत्र पर्दछ । यहाँ ‘नगरकवट नाल्दुम’ क्षेत्रमा नेपालकै पहिलो तामाङ्ग राजा थिए । धेरै पछिसम्म तामाङ्ग राजाको दरबार नाल्दुममा रहेको भन्ने जनश्रुति रहेको छ । सूर्योदय र सूर्यास्तको अति मनमोहक दृश्य अवलोकनका लागि प्रसिद्ध यस क्षेत्रमा विविध जातजातिका चराचुरुङ्गी वन्यजन्तु समेत रहेका छन् । 

    धेरैजसो वन क्षेत्र समेत रहेको यहाँ तामाङ्ग जातिको अलावा नेवार, ब्राम्हण, क्षेत्री लगायतका जातजातिको बसोवास रहेको छ । यस क्षेत्रमा विविध कला, संस्कृति र प्राकृतिक मोरञ्जनका स्थलहरू छन् । अति मनमोहक हिमशृश्रखलाहरूसहित विश्वको सर्वोच्च शिखर सगरमाथा समेत अवलोकन हुने यो क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकहरूको लागि ज्यादै आकर्षक स्थल हो ।

    नगरकोटलाई रत्नागिरी पर्वत भनिन्छ । पौराणिक कालमा देव दानव मिलेर समुन्द्रमन्थन गर्दा निस्किएको कालकुट विष शिवजीले कण्ठमा लिनु भएको र घाँटीमा विष राखेपछि बिषको डाहशमन गर्न नसकेपछि हिमालय पर्वततर्फ दौडिएर जान लाग्दा रत्नागिरी पर्वतमा बसेर त्रिशूलले खनेर पानी निकाल्दा नगरकोटको महादेव पोखरी उत्पति भएको धार्मिक पौराणिक मान्यता रहेको छ । भगवान महादेवको उक्त पानीले समेत विषको डाहा समाप्त नभएपछि यतैबाट गोसाइँकुण्ड गई त्रिशूलले खोपी पानी निकाली कुण्डमा डुबुल्की मार्दा मात्र विषको डाहा समाप्त भएको मान्यता रहेको छ । रत्नागिरी शिखरमा रहेको महादेव पोखरी नगरकोटमा नै छ । यहाँ रहेको रत्नचुडेश्वर महादेवमा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ ।

    यो क्षेत्रको धार्मिक एवं पौराणिक महत्व रहेको नगरकोटमा महामञ्जुश्री गुफा रहेको छ । यो गुफा बोधिसत्व मञ्जुश्री काठमाडौं उपत्यका प्रवेश गर्दाको प्रसङ्ग जोडिएको छ । आफ्ना रानीहरूका साथ तिब्बतबाट नेपाल आएका महामञ्जुश्री यसै गुफामा बास बसेर पछि काठमाडांै प्रवेश गरेका थिए । नेपाली बौद्ध धर्मावलम्वीहरूले मञ्जुश्रीलाई सरस्वतीका रुपमा समेत पूजा आराधना गर्ने भएकोले यस गुफाको मुखमा सरस्वती मूर्ति स्थापना गरिएको छ ।

    महामञ्जुश्री काठमाडौं उपत्यकामा प्रवेश गर्दा रत्नागिरि शिखरमा रहेको गुफामा बास बसेको कारण यो गुफा अति पवित्र गुफाको रुपमा परिचित छ । यो गुफा नेपाली सैनिक वार कलेज भित्र रहेको छ । यो हिन्दु एवं बौद्धधर्मावलम्वीहरूको ज्यादै पवित्र स्थल हो ।

    नेपालका छिमेकी मुलुक भारत चीनसँग सीमाना जोडिएका जिल्ला तथा अञ्चलहरूको नापी नक्साको मुख्य बेन्चमार्क पनि नगरकोट हो । अहिले यो स्थानको ऐतिहासिकतालाई सुरक्षित राखिएको छ । नगरकोट नेपालको भु–मापन कार्यको आरम्भिक विन्दु भएकोले पनि यस स्थानको विशेष महत्व छ ।

    बडामाहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सिलसिलामा नुवाकोट विजय गरिसकेपछि नगरकोट आएर बसी यहाँका वासिन्दाको प्रेरणाले भक्तपुरका राजासँग मितेरी साइनो गाँसी भक्तपुर–काठमाडौं उपत्यकामा विजय हासिल गरेका थिए ।

    श्री ३ चन्द्र शम्शेरले आफ्नो स्वास्थ्य अनुकुल नहुँदा स्वस्थ हावापानीबाट स्वास्थ्य अनुकुल बन्छ भन्ने राज वैद्यको सल्लाह बमोजिम काठमाडौंबाट नगरकोट आई बसोबास गर्ने गरेका थिए । सोही समयमा यहाँ भँगेरी दरबार र पुतली दरबार गरी दुईवटा दरबार बनेका थिए । ती दरबारमध्ये भँगेरी दरबार अझै संरक्षित छ भने पुतली दरबारको भग्नावशेष मात्र बाँकी छ ।

    रत्नच्यूड पर्वत र मणिचूड पर्वतको संयुक्त पृष्ठभूमिमा फैलिएको नगरकोट धेरैजसो वन क्षेत्र भएकोले यहाँ विविध चरचुरुङ्गीहरूको अवलोकन प्रत्यक्ष गर्न सकिन्छ । ऐतिहासिक गढी, किल्ला, मठ मन्दिर, पार्क एवं मनोरञ्जनात्मक क्षेत्रहरू रहेको यस क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक, पौराणिक एवं मनोरञ्जनका थुप्रै स्थानहरू रहेका छन् ।

    यस्तो ऐतिहासिक पौराणिक पुरातात्विक क्षेत्रलाई विश्व मानचित्रमा सुपरिचित गराई नगरकोटको पर्यटन प्रवद्र्धन गरी चाँगुनारायण नगरपालिका भित्रका समग्र सम्पदाहरूको प्रचार प्रसार गरी नगरकोट भ्रमण वर्ष २०८२ भव्य रुपमा मनाउन लागिएको हो । चाँगुनारायण नगरपालिकामा विश्व सम्पदा सूचीमा सूचीकृत अत्यन्त आकर्षक ऐतिहासिक पुरातात्विक चाँगुनारायणको मन्दिर रहेको छ । 

    यो मन्दिर यस नगरपालिकाको वडा नं ४ मा पर्दछ । यहाँ विशेष गरेर ठूली एकादशीका दिन लाखौं भक्तहरूको उपस्थिति हुने गर्दछ । यो मन्दिरको पूजा विधि विष्णुतन्त्रमा आधारित रहेको पाइन्छ । यहाँ मन्दिर वरपरको वातावरणले यहाँबाट प्रस्तुत हुने आध्यात्मिक वातावरणलाई विशिष्ट बनाएको छ । यस नगरपालिकामा सरस्वती मन्दिर, फैढोकागणेश, त्रिशूलडाँडा, ज्योतिर्लिङ्गेश्वर ब्रम्हायणी, जाल्पादेवी, सरस्वतीमाई, १०८ फिट सरस्वती, १०८ फिट बसेका शिव कल्पेश्वर महादेव, नगरकोट, महादेव पोखरी रत्नच्यूड महादेव, महामञ्जुश्री गुफा, झौखेल, छालिङ्ग, पञ्चमहालक्ष्मी मन्दिर, दुवाकोट, सुडाल, ताथली, बागेश्वरी, बालमुखेश्वर, वीरघाट, तीनतले महादेव, बागेहिटी जस्ता प्रसिद्ध धार्मिक, संस्कृतिक सम्पदा र क्षेत्र रहेका छन् । 

    यसै नगरपालिकाभित्र प्रसिद्ध बुद्धपार्क, मुहान पोखरी, छर्योर्तेन, रानी झुला, जीपलाइन, बोझिनी ड्याम, मुहानपोखरी झरना, ताथली चट्टानमा कुँदिएको अभिलेख जस्ता इतिहास, संस्कृति र प्रकृतिको त्रिवेणी रहेको छ । चाँगुनारायण नगरपालिका सांस्कृतिक नगरपालिकाको रुपमा समेत परिचित छ । प्रसिद्ध चाँगुनारायणको मन्दिर यस नगरपालिकाको धार्मिक, आध्यात्मिक एवं ऐतिहासिक पर्यटकीय स्थल हो । यहाँ धार्मिक हिसाबले मात्र नभई अध्ययन अनुसन्धानका हिसाबले समेत धेरै भन्दा धेरै विदेशी एवं स्वदेशी पर्यटकहरू आउने गर्दछन् । साक्षात् सरस्वतीको निवास रहेको मानिने भएकोले यहाँ वागेश्वरधाम समेत रहेको छ । 

    इतिहासका खोज एवं अन्वेषणकर्ताहरूले बागेश्वरधामलाई रहस्यको क्षेत्र भनेका छन् । इतिहासको कुनै पनि राम्रो वा नराम्रो घटनाको उपज वर्तमानमा हुने गर्दछ । विगतमा गरिएका कार्य वा घटेको घटना मानवोचित भएको खण्डमा वर्तमान समयमा ठीक गर्न सकिन्छ । वर्तमानलाई स्वस्थ र समृद्ध बनाउन पुराना समयमा मानवोचित विधि व्यवहारहरू अवलम्बन गरिएको हुनु पर्दछ, अन्यथा इतिहासहरू वर्तमानमा दुखःदायी हुन्छन् । विधि व्यवहार नअपनाउनेको जीवन दुःखग्रस्त बन्न पुग्दछ । 

    अहिलेको हरेक पललाई न्याय पुर्याउने भनेको पुराना कार्यपद्धति र घटनाक्रम अनि इतिहासको सही तथ्य जानकारीले मात्र  हो । भविष्यका लागि परिमार्जित नभईकन वर्तमान इतिहाससँग जोडिएर अघि बढ्यो भने त्यसैले आत्मनिर्भरता निरन्तरता र स्थिरताको जन्म दिन्छ । इतिहासका सही तथ्य खोजविन गरी मानव सभ्यताको विकासक्रममा तिनिहरूको सिद्धान्त कायम गर्न सकेको खण्डमा त्यसले दीर्घकालीन सोच र कार्यविधि निर्माण गर्दछ ।

    अब चाँगुनारायण नगरपालिका भित्रका सभ्यता र संस्कृतिको गहन खोज अनुसन्धान आवश्यक छ । हुन त अनुसन्धानको अन्त्य कहिलै हुदैन । सत्य घटनामा स्थापित दस्तावेजहरूको दस्तावेजीकरण गरिसकेपछि भने एक प्रकारको अनुसन्धानको अन्त्य भएको मान्नु पर्दछ । त्यसपछि पनि त्यसै सत्यको आडमा अन्य अनुसन्धान हुनु पर्ने जरुरी हुदैनन् । चाँगुनारायण नगरपालिकाको वडा नं ७ को बागेहिटी तीनतले महादेव, बागेश्वरधाम, बालमुखेश्वर महादेव, वीरघाट,ताथलीको चट्टान अभिलेख, सयभङ्गाल जस्ता स्थानहरू अनुसन्धानको पर्खाइमा छन् । यिनिहरूको यथार्थ इतिहासले वर्तमान जोडेपछि भने चाँगुनारायण स्वयं सुपरिचित दस्तावेज बन्ने कुरामा दुइमत रहँदैन ।

    इतिहास प्रकृति र संस्कृतिको पूर्ण संगम चाँगुनारायण नगरपालिका भौतिक पूर्वाधार सँगसँगै कृषि र पर्यटनलाई मूर्तरुपमा अघि राखेर जनस्तरमा स्थानीय प्रशासनको अनुभूति गराइरहेको छ । यसबाट संस्कृतिले  पर्यटनसँग हातेमालो गरेपछि भने समृद्ध चाँगुनारायण बनाउन नगरकोट भ्रमण वर्ष सफल हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

    यस नगरपालिकामा जम्मा ९ वडाहरू छन् । वडा नं १ मा रहेका सरस्वती मन्दिर, सुर्वण गणेश मन्दिर, बुद्ध मन्दिर, महाङ्काल मन्दिर, सुन्दरीदेवी, कालिका मन्दिर, दुलावेश्वर मन्दिर, रामजानकी मन्दिर, ग्राममुक्तेश्वर महादेव मन्दिर धार्मिक पर्यटकीय क्षेत्र हुन् । वडाका सबै टोलवासी सबैको आस्था हिन्दु तथा बौद्ध धर्ममा रहेको छ । यस वडामा धेरैजसो सनातन धर्मावलम्बीहरको बसोबास छ । सरस्वतीखेल समेत यस क्षेत्रमा पर्ने भएकोले साक्षात सरस्वती निवास क्षेत्र भनेर वडा नं १ लाई चिन्न सकिन्छ । 

    त्यसैगरी, नगरपालिकाको वडा नं २ मा त्रिपुरासुन्दरी, भद्राक्षीदेवीमातेश्वर मन्दिर, प्रसिद्ध फैढोका गणेश, दुःखहरणेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, चतुर्बाहु नारायण, पुर्वाभिमुख गणेश, गबु गणेश, फसिन्टार गणेश, इन्द्रेश्वर, हनुमान स्तम्भ, काटीभैरव मन्दिर, पाटीचौर सरस्वती मन्दिर, चारनारायण मन्दिर, नारायणथान मन्दिर, सन्तानेश्वर मन्दिर, गरुढ मन्दिर, कुशेश्वर मन्दिर, शिव मन्दिर (नरडोल), गणेश मन्दिर (आगञ्जा टोल), जस्ता प्रसिद्ध धार्मिक सम्पदाहरू र बारुदखाना, हात्ती बाध्ने ढुङ्गा जस्ता ऐतिहासिक पर्यटकीय स्थलहरू रहेका छन् । 

    यी धार्मिक स्थानहरूको स्थानीयहरूको पहलमा नियमित पूजा अर्चना हुने गरेका छन् । यहाँ वर्षेनी विभिन्न किसिमका फरक फरक जात्रा पर्वहरू समेत लाग्ने गर्दछन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाभित्रको यो वडा सरसफाइको हिसाबले सुन्दर वडाको रुपमा परिचित छ । 

    यस्तै, नगरपालिकाको वडा नं ३ मा ज्यादै प्रसिद्ध धार्मिक सांस्कृतिक स्थलहरू रहेका छन् । ज्योर्तिलिङ्गेश्वर महादेव, कोटदेवी मन्दिर, चुनदेवी मन्दिर, तुला महादेव, क्षेत्रपाल गणेश, यापी भैरव मन्दिर, लाकिला गणेश, बुद्ध मन्दिर वडा नं ३ भित्र रहेका प्रसिद्ध धार्मिक स्थलहरू हुन् । यी मन्दिरहरूले आन्तरिक पर्यटकहरूलाई आस्थागत हिसाबले आकर्षण गरिरहेका छन् । हरेक बिहान आ–आफनो टोल छिमेकमा भएका मठ मन्दिरको दर्शन गरी आफ्ना नित्य कार्यमा लाग्नु हिन्दु तथा बौद्ध धर्मावलम्वीको दैनिकी नैबनेको छ । 

    त्यस्तैगरी, चाँगुनारायण नगरपालिकाको वडा नं ४ विशेष वडाको रुपमा रहेको छ । यस वडाको पूर्वपट्टि छालिङ्ग पश्चिममा काठमाडौंको मूलपानी उत्तरमा काठमाडौंको डाँछी र इन्द्रायणी, दक्षिणमा झौखेल र दुवाकोट पर्दछ । विश्व सम्पदा सूचीमा सुचीकृत चाँगुनारायण मन्दिर यसै वडाको मूल शान हो । यहाँ चाँगुनारायण मन्दिर वरीपरी उमामहेश्वर मन्दिर, सरस्वती मन्दिर, गणेश मन्दिर, ब्रम्हायणी मन्दिर, महेश्वरी, बैष्णवी, बाराही, छिन्नमस्ता मन्दिर, महिषासूरमार्दिनी (चण्डी) खड्गबाहिनी दुर्गा, वैकुण्ठ विष्णु, सूर्य, जयविजय शिव, श्रीधर विष्णु, गरुणासन विष्णु, पद्यपाणी लोकेश्वर, विष्णु, विक्रान्त गरुढ, विश्वरुप, भगवान बुद्ध, सिंहनी शिव, कृष्ण, हनुमान, महाङ्काल जस्ता प्रसिद्ध मन्दिरहरू रहेका छन् । 

    समुन्द्र सतहबाट करिब १५४१ मिटर उचाइमा चाँगुनारायण मन्दिर रहेको छ । यो मन्दिरको वास्तुकला विश्वमा नै दुर्लभ मानिन्छ । यहाँको पुरातात्विकता नेपालको मानक मानिन्छ । चाँगुनारायणमा मन्दिर विष्णुतन्त्रमा आधारित पूजा पद्धति अनुसार पूजाआजा समेत हुने गरेको छ । यो उपत्यकाको सबैभन्दा पूरानो प्यागोडा शैलीको मन्दिर हो । परापूर्वकालमा घना जंगल रुपमा रहेको यो डाँडोलाई पहिले चम्पकाख्य भनिन्थ्यो । ‘चम्पक’ भनेको चाँप र ‘आख्य’ भनेको जंगल हो । नेपाल भाषामा ‘चाँ’ भनेको चाँप र ‘गु’ भनेको वन हो । यही दुई अक्षरबाट चाँगु शब्द बनेको हो । 

    ई.सं. ३२३ मा राजा हरिदत्त बर्माले निर्माण गरेको यो मन्दिर कान्तिपुरका राजा भुपालेन्द्र मल्लले जिर्णोदार गराएका थिए । राजा मानदेवले गरुडाध्वजा चढाएका र गुठीको लागि खेत दान दिएको विषय यहाँको वि.सं. ५२१ को अभिलेखमा उल्लेख छ । विश्वको लागि आश्चर्यजनक कलाकृतिको नमूना रहेको यो मन्दिरमा प्रत्येक वर्ष लाखौं बाह्य पर्यटकहरू आउने गर्दछन् । स्वदेशी धार्मिक, साँस्कृतिक पर्यटकहरू यहाँ दिनहँु हजारौंको संख्यामा आउने गर्दछन् । 

    यस मन्दिर वरीपरी ग्वालदह, नागदह, पिगदह, पाङदह, साङदह, श्यालदह र वाङदह गरी सप्तदह रहेका छन् । ज्यादै पवित्र स्थल भएकोले चाँगुनारायण मन्दिर र यस वरपरको क्षेत्रको विशेष धार्मिक सांस्कृतिक महŒव रहेको छ । सप्तदह परिवेष्टित भूमिमा रहेको चाँगुनारायणलाई कसैकसैले लोकपालेश्वर पनि भन्ने गरेका छन् । तर स्वयं नारायण भएकै कारण यिनी उपत्यकाका रक्षक नारायणमध्ये एक हुन भन्ने मानिएको छ ।

    चाँगुनारायण क्षेत्रमाहरेक महिना ज्यादै प्रसिद्ध पर्वहरू मनाइन्छ । त्यसमध्ये बैशाख महिनामा चाँगुको खटजात्रा, ध्वजा, पर्दा गुठी र विश्वभरा जात्रा लाग्ने गरेको छ । त्यस्तै, जेठमा ज्येष्ठशुक्ल षष्ठी पर्छ । असारमा चम्पकारोहण र पवित्रारोहण पर्छन् । साउनमा कलशयात्रा,घण्टाकर्ण र नागपञ्चमी, भदौमा गाईजात्रा, तीजपर्व र कृष्णजन्माष्टमी, असोजमा आश्विन शुक्ल पूर्णिमा, कात्तिकमा कार्तिक शुक्ल सप्तमी, कूष्माण्डा नवमी, हरिवोधनी एकादशी कार्तिक, अखण्ड दीप दर्शन र गरुड पूजा पर्छन् । मंसिरमा भजन गुठी र महास्नान पर्छन् । पुसमा मिलासी गुठी पर्दछ । माघमा माघे संक्रान्ति माघ, माधवनारायण मेला र माघध्वजा पर्छन् । फागुनमामहाशिवरात्री, वंशगोपाल जात्रा मनाइन्छ । चैतमा दमनारोहण, लक्ष्मीनारायण जात्रा, मत पूजा र बाग्मतीबाट जल ल्याउने परम्परा रहिआएको छ ।

    यी पर्वहरूका आ–आफ्नै महŒव रहेका छन् । प्राचीन कालदेखि चलिआएका यी पर्वका कारण चाँगुनारायण मन्दिर र यस वरिपरिको क्षेत्र धार्मिक सांस्कृतिक एवं शास्त्रीय वचन परम्परामा चलिआएका छन् । यिनै परम्पराहरूको कारण चाँगुनारायण मन्दिर र क्षेत्र प्रसिद्ध बन्न पुगेको छ ।

    चाँगुनारायण नगरपालिकाको वडा नं ५ पनि धार्मिक हिसाबले सम्पन्न वडामा पर्छ । यहाँ प्रसिद्ध मच्छेनारायण मन्दिर रहेको छ । स्वामी कमलानयनाचार्यद्वारा निर्मित अति आकर्षक पञ्चमहालक्ष्मी मन्दिर समेत यसै वडामा पर्दछ । कृष्ण मन्दिर, भाजुभैरव मन्दिर, महाकाली मन्दिर, राधाकृष्ण मन्दिर, भिमसेन मन्दिर, विन्धवासिनी मन्दिर, सुफलेश्वर मन्दिर, लोकेश्वर मन्दिर, सेता गणेश मन्दिर, जस्ता धार्मिक सम्पदा क्षेत्र तथा ओमशान्ति पार्क त्रिशूल डाँडा तेलकोटगढी जस्ता विशिष्ट क्षेत्र समेत यसै वडा भित्र पर्न आउँदछन् । 

    नगरकोट प्रवेश गर्ने तेलकोटगढी ऐतिहासिक गढी हो । यसै गढी हुँदै प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोट प्रवेश गरिन्छ । चाँगुनारायण नगरपालिकाको वडा नं ६ प्रसिद्ध पर्यटकीय स्थल नगरकोट समेत पर्ने वडा हो । नगरकोटको पर्यटकीय वातावरणमा .जाल्पादेवी, कालिका मन्दिर, महादेव पोखरी, रत्नचुडेश्वर महादेव, गीता मन्दिर, बौद्ध छ्योर्तेन, गणेश मन्दिर, मुहान गणेश मन्दिर, पञ्चकन्या, महाकाली, फुलचोकी, नन्दादेवी मन्दिर जस्ता प्रसिद्ध धार्मिक स्थल छन् । यहाँ शान्तिडाँडा, भँगेरी दरबार, पुतली दरबार, ओम शान्ति, रानी झुला जीपलाइन चमेरे गुफा जस्ता ऐतिहासिक एवं मनोरञ्जनमय स्थलहरू समेत रहेका छन् । 

    काठमाडौंबाट ज्यदै नजिकमा रहेको अति मनमोहक पर्यटकीय स्थल नगरकोटले गर्दा चाँगुनारायण नगरपालिकाको वडा नं ६ सम्पन्न पर्यटकीय वडाको रुपमा दर्पिट भएको छ । बालमुखेश्वर अर्थात् वाल्मीकेश्वर धामलाई बागेश्वरधाम पनि भनिन्छ । चाँगुनारायण नगरपालिकाको वडा नं ७ मा यो धाम रहेको छ । बागेश्वर धाम भएकै कारण यहाँ १०८ फिटको सरस्वती मूर्ति निर्माणाधीन अवस्थामा रहेको छ । यो धाम वडा नं ७ को ज्यादै प्रसिद्ध एवं आकर्षक धाम हो । 

    यसका अलावा यहाँ बाल्मीकेश्वर, निश्कलङ्केश्वर (यातु महादेव), बागेहिटी त्रिलोकेश्वर (तीनतले शिवलिङ्ग) महादेव, पदमभक्तेश्वर हिटीधारा, बालकुमारी मन्दिर, जागेश्वर महादेव मन्दिर, गौखुरेश्वर महादेव मन्दिर रहेका छन् । त्यस्तै, मुहानपोखरी झरना, मणिकर्णिका धाम, लाखे डोल, मान्छे ढुङ्गा, भुते ढुङ्गाजस्ता प्रसिद्ध स्थलहरू समेत यहाँ पर्दछ्न । धार्मिक सांस्कृतिक एवं पर्यटकीय हिसाबले सम्पन्न वडा नं ७ कृषि उब्जनीका हिसाबले पनि अगाडि छ । 

    चाँगुनारायण नगरपालिकाको वडा हो वडा नं ८ मा चेला गणेश, सरस्वती मन्दिर, ठूली ब्रम्हायणी, माईली ब्रम्हायणी, विन्ध्यवासिनी मन्दिर, गौखुरेश्वर महादेव, गणेश भिमसेन मन्दिर, अन्नपूर्ण मन्दिर, दक्षिणकाली मन्दिर, भिमसेन मन्दिरका साथै १०८ फिटको बसेको शिवमूर्ति कल्पेश्वर लगायत धार्मिक स्थलहरू रहेका छन् । यसै वडामा बोझिनी ड्याम जस्तो अत्यन्तै मनोहर ड्याम पनि पर्यटकीय आकर्षणको मुख्य केन्द्र बनेको छ । यहाँ महामञ्जुश्री गुफा जस्ता ज्यादै पौराणिक गुफा छन । यसै गुफामा बोधिसत्व मञ्जुश्री आएर बास बसेर काठमाडौंको पानी काट्ने योजना बनाएको विश्वास गरिन्छ । यहाँ सय भङ्गाल क्षेत्र पनि रहेको छ जसले पर्यटकलाई सजिलै आकर्षण गरिरहेको छ । 

    त्यसैगरी चाँगुनारायण नगरपालिकाको वडा नं ९ मा ब्रम्हायणी मन्दिर, चुनदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, रामसीता मन्दिर, भैरव मन्दिर, डाँडापाटी गणेश मन्दिर, महाकाली मन्दिर, माझीभैरव मन्दिर, दक्षिणकाली मन्दिर, ऋद्धिसिद्धि मन्दिर, नागथान, फैढोका, शिवमन्दिर, तैकावु गणेश मन्दिर, कार्यविनायक मन्दिर, ढुङ्गेन पशुपति मन्दिर, हनुमान मन्दिर, पाञ्चायन मन्दिर, बासुकी नाग, सिद्धि गणेश जस्ता धार्मिक मन्दिरहरूका साथै प्रसिद्ध पुरातात्विक चट्टान अभिलेख रहेका छन् । यस वडाको अति चर्चित पर्यटकीय आकर्षण भनेको चट्टान अभिलेख हो । यही चट्टान अभिलेख हेर्न तथा अनुसन्धान गर्न समेत यहाँ बर्षेनी धेरै पर्यटकहरू आउने गर्दछन् । वडा कृषि उत्पादनदेखि पर्यटकीय हिसाबले समेत आकर्षक वडा हो ।

    चाँगुनारायण नगरपालिका सम्पूर्ण पालिकाहरूमध्ये फरक नमुना पालिकाको रुपमा रहेको छ । कृषि उब्जाउ भूमि, प्राकृतिक पर्यटन, मावन निर्मित पर्यापर्यटन, आदिम संस्कृति र संस्कार यस नगरपालिकाका विशेषता हुन । सारस्वत भाव र शक्तिले विशिष्ट रुपमा रहेको भक्तपुर जिल्ला बागेश्वरी सरस्वतीका वरदान र अनुकम्पाले सुशोभित जिल्ला हो । चाँगुनारायण नगरपालिका भित्रका धार्मिक, सांस्कृतिक सम्पदा मुलुकको पर्यटन प्रवद्र्धनको एउटा महत्वपूर्ण कडी बन्नु पर्दछ । पर्यटनका बहुआयामिकताले सम्पन्न यस नगरपालिकाको प्रशासनिक व्यवस्थापन पक्षले स्थानीय संस्कृतिको विश्वव्यापीकरण गर्ने मुख्य अभियान नगरकोट भ्रमण वर्षको सन्दर्भसँगै आरम्भ गरेको छ । चाँगुनारायण मन्दिरको दिव्यता अलौकिकता एवं आकर्षण विश्वस्तरमा पुर्याउन गर्ने र गरिने कार्यमा हरेक नेपाली मनअघि बढेमा चाँगुनारायण नगरपालिकाको पर्यटन प्रवद्र्धनको लक्ष्य पूरा हुने निश्चित छ ।

    चाँगुनारायण स्मारिका २०८२ बाट साभार

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij