यसवर्ष वीरेन्द्रभक्तले जिब्रो छेडेर महाद्वीप बोक्दै दत्तात्रय र नवदुर्गा जाने

यसवर्ष वीरेन्द्रभक्तले जिब्रो छेडेर महाद्वीप बोक्दै दत्तात्रय र नवदुर्गा जाने

मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • यसवर्ष वीरेन्द्रभक्तले जिब्रो छेडेर महाद्वीप बोक्दै दत्तात्रय र नवदुर्गा जाने
    भक्तपुर । इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेर लोप हुनै लागेको जात्रा एवं परम्परालाई जीवन्त राख्ने भएका छन् । 
     
    इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको साँझअर्थात् भदौ २२ गते आइतबार साँझ जिब्रो छेडेर महाद्वीप (भेय्) बोकेर खाली खुट्टा भक्तपुरको नवदुर्गा र दतात्रय दर्शनका लागि जाने रुट सार्वजनिक गरिएको छ । गत दुई वर्ष मध्यपुरथिमिबाट पशुपतिनाथको मन्दिरसम्म जिब्रो छेडेर महाद्वीप बोकेर जात्रा लगे पनि यसवर्ष भक्तपुरको नवदुर्गा मन्दिर र दत्तात्रय मन्दिर पुगेर फर्किने मध्यपुरथिमिका सांस्कृतिक गुरु अर्जुन श्रेष्ठले जानकारी दिए । 
     
    जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपति मन्दिर, चाँगुनारायण मन्दिर, भक्तपुरका विभिन्न मन्दिर, स्वयम्भू, नमोबुद्धसम्म जिब्रो छेडेर पुर्खाहरु पुगेको इतिहास रहेको बताउँदै यस वर्ष जिब्रो छेड्नेको चाहनाअनुसार नवदुर्गा र दत्तात्रयको दर्शन गर्ने गरी जात्रा लैजान लागेको जानकारी दिए ।
     
    येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिले स्थानीयसँगको छलफलमा जात्राको रुट तय गरी जानकारी गराएको हो । समितिका अध्यक्ष चन्द्रकाजी श्रेष्ठका अनुसार प्रचण्ड भैरव मन्दिर अगाडिको दिगुटोल डबलीमा जिब्रो छेडेर महाद्वीप बोकेर जात्रा सुरु हुनेछ । 
     
    साँझ करिब ७ः०० बजे सुरु हुने जात्रा दिगुटोलबाट बालकुमारी मन्दिर, तछुटोल, विष्णुविर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ स्थित दक्षिण बाराही मन्दिर (क्वाछे) हुँदै पुन शङ्खधर चोक थिमि फर्किने छ । 
     
    त्यसैगरी शङ्खधर चोकबाट मुख्य सडक हुँदै राधेराधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौ, नवदुर्गा मन्दिर ९द्यो छें०, साक्वःलान रुट हुँदै पुनः पाँचतले मन्दिर फर्कने छ । 
     
    त्यसपछि वंशगोपाल, सिद्ध पोखरी, सल्लाघारी चोङा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भीमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली  चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हँुदै बालकुमारी मन्दिर पुगेर जिब्रोबाट सियो निकालेर जात्रा बिसर्जन गरिने भएको छ ।
     
    यो जात्रा यसअघि लगातार दुई वर्ष पशुपतिनाथ मन्दिर पुगेर फर्किएको थियो । बीचबीचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि रोकिँदै पुनः  २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा सुरु भएको हो । त्यसयता उहाँले २०७९ र २०८१ सालमा पनि जिब्रो छेड्नु भएको थियो । 
     
    विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएको यो जात्रा २०७९ मा वीरेद्रभक्तले पुनः निरन्तरता दिनुभएको थियो । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा जिब्रो छेडाउनु भएको थियो । जात्रामा करिब रु पाँच लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । 
     
    यो जात्रा २०८० मा बालकरामले र २०८१ मा वीरेन्द्रभक्तले मध्यपुरथिमिबाट पेप्सीकोला, गुहेश्वरी हुँदै पशुपति मन्दिर पुगेर दर्शन गरी सोही रुटबाट फर्केर सम्पन्न गरेको थियो । किम्वदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिसाचहरूले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिसाच भागेर शान्ति मिलेको भनाइ छ । 
     
    भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेड्ने र यात्रा गर्दै तोकिएको गन्तव्यमा पुगि सियो निकाल्ने परम्परा छ । जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास गरिन्छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij