काठमाडौं । बाढीपहिरोले अवरुद्ध रसुवा र मुस्ताङ जोड्नेबाहेक अरु सबैजसो सडक खुलेका छन् ।
गएको भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा जोड्ने गल्छी–वेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी–टिमुरे सडक बन्द भएको थियो । अस्ति शुक्रबारदेखि गल्छीदेखि वेत्रावतीसम्म गाडी चल्न थालेका छन् ।
रसुवातर्फ स्याफ्रुबेंसी, रसुवागढी तथा टिमुरे तत्काल केन्द्रीय सडकमा जोड्न समस्या छ । गएको भदौ १० गतेको बाढीले ८२ किलोमिटर लामो गल्छी–वेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी–टिमुरे सडकखण्डको झण्डै ४० किलोमिटर सडक बगाएको छ ।
त्यस्तै म्यादीको बेनी–मुस्ताङको जोमसोम सडक खण्ड पनि पूर्ण रुपमा बन्द छ । यही असोज ९ देखि ११ सम्मको ठूलो वर्षासँगै बाढी÷पहिरो र नदी कटानबाट अबरुद्ध बेनी–जोमसोम सडक सञ्चालनका लागि अझै एक हप्ता लाग्ने अनुमान छ ।
लमजुङको वेशीसहर हुँदै खाङसारसम्म जाने सडक एकतर्फी खुलेको छ ।
नवलपरासी पूर्व बुलिङ्टार–६ घुमाउरी घाटमा कालीगण्डकी करीडोर एकतर्फी खुलेको छ । यो करीडोरको बौदिकाली गाउँपालिका–३ जन्ती पहिरोमा सडक एकतर्फी भए पनि ठूला गाडी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ ।