भक्तपुर । नमुना वचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले शनिबार चन्द्रमौलेश्वर सामुदायिक भवनमा कार्यक्रम गर्दै स्थापनाको १७ औं वर्ष मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा सूर्य बहादुर थापाले स्थापनाको १७ औं वर्षसम्म पुग्दा नमुना वचत सहकारीले विभिन्न महामारी र आर्थिक मन्दीमा समेत सफलतापूर्वक सञ्चालन गर्न सफल भएकोमा बधाइ दिए । हालको सहकारी संकटमा समेत बचाएर अगाडि बढाउन सकेकोमा उनले बधाइ साथै आगामी दिनहरुमा समेत यसैगरी अघि बढ्न शुभकामना दिए ।

सहकारीका अध्यक्ष गोरखनाथ केसीले नमुना सहकारीले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई संस्थागत गर्दै सदस्यहरुको आर्थिक उत्थानमा सहयोग गरेको दाबी गरे । ‘नमुना सहकारीले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई संस्थागत गर्दै उद्धेश्य प्राप्तिका लागि व्यवहारिक प्रयोग गर्दै सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्नु नै वास्तविक रुपमा सहकारीको संस्थागत विकास हो । हामीले पनि त्यसैलाई आत्मसात गर्दै यहाँसम्म आइपुगेका छौं ।’ उनले भने ।

कार्यक्रममा सहकारीका सचिव दान बहादुर जिसीले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै आर्थिक मन्दिका कारण कर्जा लगानीमा कमी आएको र पहिले नै लगानी भएको स्थानबाट असुलीमा समस्या आएको बताए । ‘आर्थिक मन्दी र त्यसमाथि पनि फैलिएको ऋण तिर्नुपर्दैन भन्ने अफवाह, त्यसले गर्दा कर्जा परिचालन र ब्याज आम्दानीमा नै पनि कमी आएको छ ।’, उनले भने । तर, प्रतिकुल अवस्थामा पनि आफूहरु संयमित भएर यहासमम आइपुगेको उनले दाबी गरे ।

सहकारीले गत आर्थिक वर्षमा १६ लाख ४० हजार रुपैयाँ नाफा गरेको कोषाध्यक्ष लीला प्रसाद कक्षपतिले जानकारी दिए । उक्त वर्ष सहकारीले कुल ८७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको र ६९ लाख १० हजार रुपैयाँ कुल खर्च गरेको उनले जानकारी दिए ।
वार्षिकोत्सवका अवसरमा सहकारीले तीन जना ज्येष्ठ सदस्यलाई सम्मानित गरेको छ । यसरी सम्मानित हुनेमा नवराज न्यौपाने, सानुबाबु प्याकुरेल र देवी बहादुर दहाल रहेको सचिव जिसीले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड, ठिमीका प्रतिनिधि केशव धमला, एकता वचत तथा ऋण सहकारी संस्था, गठ्ठाघरका अध्यक्ष जानुका भट्टराई लगायतको उपस्थिति रहेको थियो ।