इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

शुक्रवार, पौष १३ २०८०
शुक्रवार, पौष १३ २०८०
  • इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

     इलाम । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो ।

    माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताएका छन् । “नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग सुरु गरेको छ,” उनले भने, “व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग कार्यक्रमअन्तर्गत अनुदान दिइएका छौँ ।”

    माईजोगमाई –५ सोयाङका लक्ष्मण खत्रीले चार रोपनी क्षेत्रफलमा प्रतिपिलर चारवटा बिरुवाका दरले एक सय ५० पिलर लगाएका छन्। “भर्खर ३०–४० पिलरबाट मात्र फल उत्पादन सुरु हुँदैछ, वार्षिक ८० हजार आम्दानी छ”, उनले भने, “कुनै दुई वर्षका, कुनै तेस्रो वर्षका बिरुवामात्र छन्, चार वर्षको म्याचोर्ड भएपछि त एउटै पिलरले ४० केजीसम्म उत्पादन दिने रहेछ ।” खत्रीले इलाम बजारमा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्दै आएका छन् । “उत्पादन बढ्दै गएपछि अन्य जिल्लाका बजार खोज्नुपर्ला, अहिलेसम्मको चैँ यहीँबाट खपत भइरहेको छ,” उनले भने ।

    झापाको प्यारोडाइज एग्रोफार्मबाट बिरुवा मगाएर त्यहाँको परामर्शबमोजिम खत्रीले खेती सुरु गरेको आउँदो जेठमा चार वर्ष पुग्छ । “इलाममा ड्रागन फ्रुटको खेती सुरु गर्ने सायदै म नै पहिलो होला, विज्ञको सुझाव र काम गर्ने लगनशीलताले मलाई सफल भएँ जस्तो लाग्छ,” उनले भने, “यसले वैशाखदेखि सुर भएर कात्तिकसम्म फल दिन्छ । स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ ।” इलाम गोलाखर्कका अर्का किसान सन्देश खड्काले ड्रागन फ्रुटलाई सजावट तथा फल उत्पादन दुवै प्रयोजनका लागि प्रयोग गरिने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij