नेपाल–भारतबीच २४ बुँदे संयुक्त वक्तव्य जारी, २ खर्ब ४० अर्ब रुपैयाँ सहायता दिने घोषणा

नेपाल–भारतबीच २४ बुँदे संयुक्त वक्तव्य जारी, २ खर्ब ४० अर्ब रुपैयाँ सहायता दिने घोषणा

सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • नेपाल–भारतबीच २४ बुँदे संयुक्त वक्तव्य जारी, २ खर्ब ४० अर्ब रुपैयाँ सहायता दिने घोषणा

    काठमाडौं । नेपाल र भारतबीच आर्थिक सहायता, ऊर्जा, व्यापार, हवाई तथा रेल सम्पर्क, पूर्वाधार र प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा दुई देशबीच २४ बुँदे संयुक्त वक्तव्य जारी गर्दै यस्तो सहमति गरिएको हो।

    सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि संयुक्त वक्तव्य जारी गरिएको हो। वक्तव्यअनुसार भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ।

    उक्त सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा रहनेछ। अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनामा र ऋण सुविधा ऊर्जा क्षेत्रका आयोजनामा उपयोग गरिने जनाइएको छ।

    दुई देशबीच हवाई तथा रेल सम्पर्क विस्तार गर्ने विषयमा पनि सहमति भएको छ। हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। यसका लागि आवश्यक प्राविधिक परामर्श गरिने संयुक्त वक्तव्यमा उल्लेख छ।

    त्यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षण अन्तिम रूप दिइएको छ। नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि पनि भारतसँग सहकार्य गर्ने सहमति भएको छ।

    भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने भएको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत पहुँच उपलब्ध गराइने वक्तव्यमा उल्लेख छ।

    धार्मिक तथा सांस्कृतिक सम्पर्क विस्तार गर्ने क्रममा अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा पनि उद्घाटन गरिएको छ। यसले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    ऊर्जा क्षेत्रमा पनि विभिन्न सहमति भएका छन्। दुवै देशका प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिने तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माणलाई तीव्रता दिने सहमति पनि भएको छ।

    सीमापार पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको छ। साथै, झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ। सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य छिट्टै सुरु गर्ने विषयमा पनि जोड दिइएको छ।.. शिक्षा र प्रविधिको क्षेत्रमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को विदेशी क्याम्पस स्थापना गर्ने सहमति भएको छ। स्टार्टअप, डिजिटल सेवा, वित्तीय सम्पर्क, अन्तरिक्ष प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय पनि संयुक्त वक्तव्यमा समेटिएको छ।

    भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्। ती समझदारीपत्र अपराध अनुसन्धान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रहमा आधारित सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्य विकाससँग सम्बन्धित छन्।

    सीमा व्यवस्थापनका विषयमा पनि दुवै पक्षले छलफल गरेका छन्। सीमा स्तम्भको मर्मतसम्भारमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै बाँकी सीमा विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन दिइएको छ।

    प्रधानमन्त्री शाहले भ्रमणका क्रममा आफू र प्रतिनिधिमण्डललाई प्रदान गरिएको आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन्। उनले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र मोदीले निमन्त्रणा स्वीकार गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।

    दुई देशबीचको साझेदारी आपसी विश्वास, मित्रता, सम्मान र आर्थिक तथा विकास सहकार्यमा आधारित रहेको उल्लेख गर्दै संयुक्त वक्तव्यमा आगामी दिनमा उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij