काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट नजिकै काप्रावोटको मोडमा शुक्रबार साँझ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी निवासी २५ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल साँझ करिब ६ बजे सडकबाट १० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।