काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्डको घोप्टेभीरमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सवारी आवागमन बन्द गर्ने जनाएको हो ।
घोप्टेभीरमा सडक माथिबाट निरन्तर ढुङ्गा तथा माटो खस्ने क्रम जारी रहेकाले पहिरोको उच्च जोखिम देखिएको प्रशासनले जनाएको छ । जोखिम न्यूनीकरण गरी सडकलाई सुरक्षित बनाउन पहिरोको जोखिम रहेको माथिल्लो भाग काट्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको हो ।
उक्त अवधिमा सवारी आवागमन बन्द हुने भएकाले मुग्लिन–काठमाडौं सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई समय व्यवस्थापन गरी यात्रा गर्न आग्रह गरिएको छ ।
