काठमाडौं । जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार दिउँसो भेरी करिडोरअन्तर्गत नलगाड नगरपालिका–८, मालुवामा अटो अनियन्त्रित भएर सडकबाट करिब ६५ मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा नलगाड नगरपालिका–२, डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ का ३८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ का २२ वर्षीय करण परियार घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको अटोको नम्बर लुप्र ०१–००१ ह ०५२९ रहेको प्रहरीले जनाएको छ ।