२०८३ साउन ३० गते शनिबार दिउँसो १२ बजेतिर हामी भक्तपुरको गठ्ठाघरबाट निस्किएका थियौँ । उद्देश्य थियो– ‘बहुचर्चित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग हेर्ने । सुरुङ छिर्ने, बाहिर निस्कने, धार्केतिर चिया खाने अनि साँझ घर फर्किने ।’
तर यात्राले कहिलेकाहीँ यात्रुको योजना मान्दोरहेनछ !
सुरुङ हेर्न जाने टोलीमा तीन पत्रकार थियौँ–पेशल आचार्य, वीरेन चौलागाईं र म । पेशल दाइका छिमेकी दाजुभाइ कृष्ण श्रेष्ठ र केशव श्रेष्ठ पनि सामेल हुनुहुन्थ्यो । गाडीको जिम्मा मुख्य चालक बैधनाथ साह र सहयोगीमा चन्दन थिए । कुल मिलाएर हामी ७ जना थियौं ।
उद्घाटन भइसकेर पनि चल्न नसकेको सुरुङ छिर्ने अनुमति मिलाउने काम पेशल दाइले गर्नुभएको थियो । पेशल दाइलाई घुम्ने कुरामा ‘किन’, ‘कसरी’ र ‘कति टाढा’ जस्ता प्रश्नले खासै फरक पार्दैन । उहाँ डुल्नकोलागि ‘दाम्लो चुडाउँनुहुन्छ’ भन्यो भने फरक पर्दैन । ७७ वटै जिल्ला सदरमुकाममा पाइला राख्न सकेकोमा उहाँ गर्व गर्नुहुन्छ । मलाई लाग्छ, ७७ जिल्ला घुम्नेको संख्या मुलुकमा नै अति कम होला ...जुन क्लबमा हामी पर्न सकेका छैनौं ।
वीरेनजी युवा पत्रकार हुन्, तर व्यवहारमा परिपक्व । शालीन, थोरै बोल्ने । राजनीति बुझ्ने कमै पत्रकारमा पर्लान् उनी ।
अनि म ? न वरिष्ठ, न कनिष्ठ । न सक्रिय, न निष्क्रिय । न हँसाउने, न रुवाउने । कुनै खास परिचय बनाइनसकेको गैरयुवा पत्रकार । यद्यपि पत्रकारिताको यही बाटोमा २५ वर्ष घिस्रिसकेको छु ।
सुरुङ र सुरुवात
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको सडक पूर्वाधारमा नयाँ अनुभव हो । मुख्य सुरुङ करिब २.६८ किलोमिटर लामो छ भने यससँग जोडिएका पहुँचमार्ग, सहायक संरचना र आपत्कालीन उद्धारका लागि बनाइएका संरचनाले यसको महत्व अझ बढाएकोछ ।
हामी सुरुङमा प्रवेश गर्ने प्रक्रियामा केही समय रोकियौँ । नेपालमा उद्घाटन र निर्माणबीचको सम्बन्ध अनौठो देखिन्छ । काम सम्पन्न हुनुअघि उद्घाटन गर्ने, उद्घाटनपछि पनि केही काम बाँकी रहने र उद्घाटनको माला सुकिसक्दा पनि आयोजना पूर्ण सञ्चालनमा नआउने दृश्य नयाँ होइन । हामीले त्यो भोग्यौं पनि ।
सुरुङभित्र पस्यौँ । अँध्यारो पहाडको पेटभित्र आधुनिक बत्तीहरू थिए । बाहिरको चर्को उज्यालो एकैछिनमा हरायो । गाडीका हेडलाइट र सुरुङका बत्तीबीच हामी अगाडि बढ्यौँ । प्रति घण्टा ३० का दरले मात्रै हाँक्ने उर्दी अनुसार हामी बिस्तारै गुड्यौं ।
केही मिनेटमै पहाड छिचोलियो । हाम्रो यात्रा यहीँ सकिनुपर्ने हो । तर यात्रा त सुरुङ छिचोलेपछि पो सुरु भयो ।
सुरुङ पार गरेपछि धार्केसम्म पुगेर चिया खाने र फर्किने कुरा भयो । त्यत्तिकैमा पोखराको बाटो राम्रो भएको प्रसंग निस्कियो । कृष्ण दाइले भन्नुभयो– धेरै वर्षदेखि पोखरा गैएको छैन । त्यसपछि पेशल दाइले फ्याट्ट सोध्नु भयो – ‘त्यसो भए पोखरा जानेत ?’
म चुप थिएँ । मेरो हालत ठिक थिएन । खुट्टामा बूढो चप्पल । त्यसैअनुसारका लुगा । पोखरा नेपालको पर्यटकीय राजधानी भएकाले त्यहाँ पस्दा त्यसको इज्जतकालागि पनि केही सतर्कता माग्छ, कथाले । तर यसपटक म ‘होस्ल्याङे’ थिए ।
साहुँ लुगा मात्र थिए, सातैजनासँग । तर पोखरा जाने निर्णय भएरै छोडो । कसैले तेल, कसैले खाना, कसैले आवश्यक अन्य कुराको ब्यवस्था गर्ने स्वघोषणा हुन थालो । यात्रा अब योजना होइन, सनक भयो ।
केही अगाडि पुगेपछि पेशल दाइले हाम्रा रमाइला मित्र केशव तिम्सिनालाई फोन गर्नुभयो । केशव हरेक शुक्रबार गजुरीतिर जाने गर्छन् । उनको स्वास्थ्यकर्मी श्रीमती त्यतै जागिरमा बस्छिन्, उनी काठमाडौं खाल्टोमा बसेपनि ।
श्रीमतीलाई छोडेर हाम्रो टोलीसँग पोखरातिर बरालिन चाहिँ यी केशव तयार भएनन् । चिया खायौँ । छुट्टियौँ । तर भोलीपल्ट फर्किँदा उनलाई बाटोबाटै उठाएर काठमाडौं ल्याउने सहमति भयो ।
यात्रा अझ रोचक हुँदै गयो । कृष्ण दाइ, मनभित्र ठूलो पहाड बोकेका यात्री हुनुहुन्थ्यो । त्यसैले हाम्रो यात्राको सबैभन्दा गम्भीर तथा पाका पात्र ६१ वर्षका कृष्ण दाइ नै हुनुहुन्थ्यो । १७ वर्षको उमेरदेखि गाडी चलाउन थालेका । पछि जापान बसेर आर्थिक रूपमा आफूलाई व्यवस्थित बनाउनुभएका उहाँलाई जीवनले दिएको सबैभन्दा ठूलो परीक्षा धनसँग सम्बन्धित थिएन । त्यो थियो–सन्तान शोक ।
२०८२ असोज १८ गते लाङटाङतिर ट्रेकिङ गएका ४ जनालाई बाढीले बेपत्ता पार्यो । बेपत्ता भएका चारमध्ये तीन जना उहाँकै छोरा–छोरी थिए । २६ वर्षीया सनिता, २२ वर्षीया संस्कृति र २० वर्षीय किसन श्रेष्ठ बाढीपछि बेपत्ता भए, जो उहाँकै सन्तान थिए ।
आफ्ना सन्तानको सनाखत समेत गर्न नपाई विवस भएर जीवन गुजार्नु कति पिडादायक हुन्छ ? त्यो अरुलाई थाहा हुने कुरै भएन । कृष्ण दाइ त्यही मन बोकेर हामीसँग यात्रामा हुनुहुन्थ्यो ।
मुङलिङपारी खाजा खाने कार्यक्रम बनो । त्यो माछाघरमा माछाको बिकल्प खोज्ने हाम्रो टिमका एकजना मात्रै पात्र हुनुहुन्थ्यो, पेशाले ब्यापारी र पढाईले पाइलट उनै साहजी । हामी भने भर्खरै बल्छीमा परेको २१ किलोको माछामा आकर्षित भयौं ।
हामी तनहुबाट अघि बढ्दैगर्दा आकाश अचानक कालो भयो । ‘आरिघोप्टे’ पानी पर्न थाल्यो । केही बेरअघि सय किलोमिटरको गतिमा दौडिएको गाडी २०–३० किलोमिटरको गतिमा झरयो । त्यही बेला कृष्ण दाइले झल्यास्स सम्झिनुभयो– ‘मलाई त एक वर्ष काठमाडौं नछोड्न भनेका थिए नि !’ गाडीभित्र एकछिन मौनता छायो । उहाँले थकथकाउँदै फेरि थप्नु भयो, –‘कस्तो बिर्सेछु ।’ यो कुरा उहाँले निकै पटक दोहोरयाउनु पनि भयो ।
कसैको घरमा यस्ताखाले घटना भएपछि कम्तीमा एक वर्षसम्म सजग रहनुपर्छ भन्ने समाजिक मनोवैज्ञानिक विश्वास छ । मैलेत यस्ता कुरा रत्तीभर पनि पत्याउने गरेको छैन । अन्ततः केही भएन पनि ।
पानी रोकियो । बाटो खुल्यो । यात्रा उस्तै गतिमा अघि बढ्यो । र पछि फर्किँदा सुरुङको मुख देखेपछि कृष्ण दाइ पनि ढुक्क देखिनुभयो । भन्नु भयो, ‘बल्ल ढुक्क भयो ।’
४२ वर्षमा पोखरा
पोखरा पुग्दै गर्दा कृष्ण दाइ खुल्न थाल्नु भयो । पोखरालाई उहाँले चार दशकदेखि वास्ता गर्नु छोड्नु भएको रहेछ । त्यतिबेला पोखरा अहिले जस्तो थिएन । बाटा साना थिए । सहर सानो थियो, यति गुलजार थिएन । पर्यटक कम थिए । मूल्य सुन्दा आजको पुस्ताले पत्याउन गाह्रो पर्ने ।
उहाँ पुरानो पोखराका कथा प्रसंग अनुसार टुक्रा टुक्रामा सुनाउनु हुन्थ्यो । त्यतिबेला पोखरा जाने बाटोमा जिउँदो खसी पाँच सयदेखि हजार रुपैयाँसम्ममा पाइन्थ्यो र गाडीमा हालेर काठमाडौं ल्याईन्थ्यो, उहाँले सम्झिनु भयो । केजीकै १६ सय पर्ने आजको बेलामा खसीनै ५ सयमा आउने वेला कस्तो थियो होला ?
मूल्य केवल बजारको कुरा होइन रहेछ । मूल्यले समय पनि बोकेको हुँदो रहेछ । कृष्ण दाइका लागि त्यो खसी पाँच सय रुपैयाँको कथा थिएन । त्यो ४२ वर्षअघिको एउटा सुन्दर समय थियो ।

पोखरा : ताल, हिमाल र पर्यटनको शहर
पोखरा अहिले केवल घुम्ने ठाउँ होइन । यो नेपालको पर्यटन अर्थतन्त्रको एउटा प्रमुख केन्द्र हो । फेवाताल, अन्नपूर्ण हिमशृंखला, माछापुच्छ्रे, विश्व शान्ति स्तूप, गुफाहरू, साहसिक पर्यटन, प्याराग्लाइडिङ, बन्जी, अल्ट्रालाइट, पर्वतीय पदयात्रा र तालकिनारको जीवनशैली । पोखराले पर्यटकलाई प्रकृति र अनुभव दुवै बेचिरहेको छ । तर हामी पोखराको प्रकृति वा अनुभव मध्ये केको खोजीमा थियौं ? मेले चाहिँ खुट्याउन सकिनँ ।
यहाँ बिहान हिमाल हेर्न सकिन्छ । दिउँसो तालमा डुंगा चलाउन सकिन्छ । साँझ स्थानीय खानाको स्वाद लिन सकिन्छ । अर्को दिन पदयात्रामा निस्कन सकिन्छ । हाम्रो टोलीका लागि भने पोखराको सबैभन्दा ठूलो आकर्षण त्यस दिन प्रकृति मात्रै थिएन । एकअर्काको कथा थियो ।
पुम्दीकोट : पोखरालाई माथिबाट हेर्दा
फर्किने क्रममा कृष्ण दाइ अझ खुलेर कुरा गर्न थाल्नुभयो । उहाँले आफ्नो पुरानो ड्राइभिङ लाइसेन्स निकाल्नुभयो । सानो, रातो रंगको ।
त्यो लाइसेन्समा आजको कृष्ण दाइ थिएनन् । त्यहाँ एउटा जवान कृष्ण थियो । १७ वर्षमै स्टेरिङ समातेर पोखरामा पर्यटक लाने–ल्याउने युवक । गाडी चलाएर संसार छिचोल्ने सपना देखेको युवक । हिरो जस्तो देखिने युवक । हामीले उहाँको कुरा सुन्दै जाँदा लाग्यो– एउटा सुन्दर फिल्मको ‘फ्ल्यास ब्याक’ आइरहेको छ ।
निकै समयपछि कृष्ण दाइले भन्नु भयो, ‘मंसिरतिर केही दिन पोखरा नै आएर बस्न मन भयो ।’ त्यो वाक्य सामान्य लाग्थ्यो, सुन्नेलाई । तर मैले त्यसको अर्थ गहिरोरुपमा बुझेँ ।
हामी विहानै पुम्दीकोट पुग्यौँ । आकाश सफा हुँदा अन्नपूर्ण र माछापुच्छ्रेका हिमशृंखला देखिने भूगोल । हामीले हिमालको दर्शन गर्ने अनुमती पाएनौं । तर पोखरालाई माथिबाट हेर्दा सहरको स्वरूप नै बदलिने दृश्य चाहिँ देख्यौं । फेवाताल तल चम्किरहेको थियो । पोखराको बस्ती टाढासम्म उसैगरी फैलिएको थियो ।
पुम्दीकोट पछिल्ला वर्षमा धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास भएको छ । यहाँ विशाल शिवमूर्ति प्रमुख आकर्षण बनेको छ । तर मलाई पुम्दीकोटको महत्व मूर्तिभन्दा माथि लाग्यो । यहाँबाट फेवातालमा आफ्नै छायाँ पार्न सकिने, माछापुछ्रे जस्तै ।
समस्याभित्र हुँदा समस्या ठूलो देखिन्छ । अलिकति माथि उठेर हेर्न सकियो भने जीवनको अर्को दृश्य देखिन्छ । सायद कृष्ण दाइलाई पनि त्यही चाहिएको थियो, केहीबेर आफ्नो दुःखभन्दा माथि उठेर संसार हेर्नु ।
कृष्ण दाइका भाइ केशव श्रेष्ठ उस्तै मज्जाका पात्र थिए । ठिमीको हर्ष चोकमा ग्यासको व्यापार गर्ने उनी ग्यासका ग्राहाकको फोनले आजीत थिए ।
ग्यास आयो ? कहिले आउँछ ? बाटोभरी यस्तै प्रश्नहरुको सामना गरिरहे उनले । बैदेशिक रोजगारीबाट फर्केर घरजम गरेका उनी आफ्ना लालाबालाको प्रेममा पनि छपक्कै भिजेका रहेछन् । हामी तालमा तैरिदा उनी भिडियोकलमा परिवारसँग पौडिरहन्थे । सायद जिन्दगी भनेको रमाउनु हो । उनी रमेर बसेका रहेछन् ।

पाइलटको तालिम लिएका चालक
हाम्रो मुख्य चालक बैधनाथ साह पनि कम रोचक पात्र थिएनन् । गाडी चलाउँथे, तर उनी जहाज उडाउने महंगो तालिम लिएका पाइलट पनि रहेछन् । साढे ४ घण्टा गाडी चलाउँदा गाइघाटबाट काठमाडौं आइपुगेको पछिल्लो रेकर्ड सुनाए उनले । यो सुन्दा मलाई चाहिँ लाग्यो, उनमा पाइलटको धङधङी गइसकेको रहेनछ ।
बैधनाथ अरूको कुरा सुनेर बढी रमाउँथे । अरूले ठट्टा गर्दा खुलेर हाँस्ने । सकारात्मक स्वभाव । पेशल दाइलाई ‘मामा’ भन्थे । मामा–भाञ्जाको सम्बन्ध गाडीभित्रको अर्को रमाइलो विषय थियो ।
यात्रामा चालक केवल गाडी हाँक्ने मान्छे हुँदैन । यात्राको गति, वातावरण र कहिलेकाहीँ यात्रुको मुडसमेत चालकको हातमा हुन्छ । बैधनाथ साहले त्यो भूमिका राम्रैसँग निभाइरहेका थिए । उनका सहयोगी १७ बर्षे चन्दन मेरा खास साथी भए, यात्रामा ।
अर्को केशवको कथा
आइतबार काठमाडौं फर्किंदा केशव तिम्सिनालाई बाटोबाट टिप्ने योजना थियो । टिपियो पनि ।
यसअघिका यात्रामा केशवजी असाध्यै रमाइला साथीको रुपमा स्थापित थिए । एकदमै ‘पर्फेक्ट प्याकेज’ ।
यसपटक केशवलाई अरग्यानिक खानेकुरा खोज्ने जिम्मा दिनु भएको थियो, पेशल दाइले । उनले केराको घरी खोज्ने जिम्मा लिएका थिए ।
‘दुई सय रुपैयाँमा घरी नै आउँछ नी दाइ ।’ उनले हौसिएर यस्तो बताउँदा हामी मज्जाले हाँसेका थियौं । काठमाडौंमा केराको मोल दर्जनकै तीन सयसम्म भएकोवेला दुई सय रुपैयाँमा घरी नै आउने कुरा कम्ता रोचक सुनिएन । तर पछि केरा किन्ने बेला उहाँले नयाँ कुरा निकाल्नुभयो– त्यो मोलमा पाउनत गाउँ जानुपर्ने रहेछ । हामी फेरि हास्यौं । उनले प्रायः यस्तै कुरामा हँसाउँछन् ।
केशव गाडी चढ्नु अघि नै हामीले भनेका थियौँ– ‘केशव तिम्सिना हल्का रमाइलो मान्छे छन् ।’ जतिसुकै शीर्यस वा गम्भिर कुरालाई पनि उनी हल्का बनाउन सक्छन् भन्ने हामीलाई थाहा थियो । ग्यास अभावको कुरा निश्किदा वर्तमान सरकारका समर्थक उनले भनिदिए–सबैले ग्यास नै चलाउनु पर्छ भन्ने छ र ? मटिट्तेलको स्टोभ बाल्नु, दाउरा बाल्नु सबैलाई ग्यास नै चाहिने ? उनले समाधानको उपाय बोलेका थिए । यात्रा सकिँदासम्ममा उनले आफू गफाडी रहेको परिचय स्थापित गराए ।
अघिल्लो दिन नैकापमा राखेको बाइक लिन केशव ओर्ले पछि कृष्ण दाइले फरक मूल्यांकन सुनाउनु भयो– ‘तपाईंहरुले भनेजस्तो गफाडी त रैनछ केशव ।’ कृष्ण दाइको कुरा सुनेर हामी फेरि एकपटक मज्जासँग हाँसेका थियौं ।
अन्तिम भनाई
यात्राको अन्त्यमा मलाई एउटा कुरा गहिरो गरी महसुस भयो– गन्तव्यमा पुगेर यात्रा सकिँदैन । कहिलेकाहीँ यात्रा सकिएपछि मात्रै त्यसको अर्थ सुरु हुन्छ ।
नागढुंगाको सुरुङबाट हामी निस्कियौँ । पोखरा पुग्यौँ । पुम्दीकोटबाट सहर हे¥यौँ । फेरि काठमाडौं फर्कियौँ । तर त्यो यात्राबाट फर्किंदा हामीसँग पोखराको तस्बिर मात्रै थिएन । हामीसँग एउटा बुबाको मौन पीडा थियो । एकजना ब्यापारिको दैनिकी थियो । एउटा क्यामेरामेनको अमूर्त कुरा थियो । एउटा चालकको खुला हाँसो थियो । पेशल दाइको ‘जाने त पोखरा ?’ भन्ने आकस्मिक प्रस्ताव थियो । र मेरो पुरानो चप्पलमा लुकेको एउटा अनपेक्षित यात्रा थियो । सायद यात्राहरू यस्तै हुनुपर्छ । योजना नभएका, तर जीवनभर सम्झनामा रहने ।
अन्ततः हामी सुरुङ हेर्न निस्किएका थियौँ, तर यात्रामा जीवनका अनेक रंग भेट्यौँ । सायद यात्राको असली अर्थ पनि यही हो–गन्तव्यमा पुग्नु होइन, बाटोमा केही यस्ता सम्झना बटुल्नु, जो फर्किएपछि पनि लामो समयसम्म हामीसँगै यात्रा गरिरहून् ।