१९ वर्ष दौडिदापनि नथाकेको ‘परिवर्तनशील आवाज’

१९ वर्ष दौडिदापनि नथाकेको ‘परिवर्तनशील आवाज’

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • १९ वर्ष दौडिदापनि नथाकेको ‘परिवर्तनशील आवाज’

    भक्तपुरबाट एउटा साप्ताहिक पत्रिका १९ वर्षदेखि निरन्तर प्रकाशित हुनु आफैंमा समाचार हो । अहिलेको डिजिटल समय, सामाजिक सञ्जालको तीव्र विस्तार र छापा पत्रकारितामाथि बढ्दै गएको चुनौतीबीच कुनै स्थानीय पत्रिकाले झन्डै दुई दशकको यात्रा पार गर्नु आफैंमा एउटा कथा पनि हो । यस अर्थ ‘परिवर्तनशील आवाज’ले इतिहास लेखिसकेको छ । 

    यस पटक पनि ‘परिवर्तनशील आवाज’ले आफ्नो वार्षिकोत्सव पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान गरेर मनायो । कार्यक्रममा करिब दुई दर्जन पत्रकार, सञ्चारकर्मी र व्यवसायी थिए । वातावरण भने निकै ‘इन्फर्मल’ थियो । कार्यक्रमका सञ्चालक तथा सम्पादक कृष्ण प्रजापति कार्यक्रमलाई ‘इन्फर्मल’ बनाउने भन्थे र ‘फर्मल’ तिर लान खोज्थे । अनि, फेरि सम्हालिन्थे । तर उपस्थितहरूको आत्मीयताले कार्यक्रमलाई औपचारिकभन्दा बढी भेटघाट र गफगाफको स्वरूप दिइरहेको थियो । 

    १९ वर्ष चानचुने कुरा होइन
    भनाइ नै छ– ‘प्रकाशक जति इमान्दार भयो, उति पत्रिका सिकुटे हुन्छ ।’ यो भनाइलाई ठ्याक्कै ‘परिवर्तनशील आवाज’मा लागू गर्न मिल्छ कि मिल्दैन, थाहा छैन । तर पत्रिकाको अवस्था हेर्दा त्यस्तै लाग्छ । 

    भव्य कार्यालय, ठूलो लगानी, विशाल जनशक्ति वा चम्किलो पूर्वाधारको कथा यहाँ छैन । तर पनि पत्रिका चलेको छ । वर्षपछि वर्ष, अंकपछि अंक । धन्न निकालिराछन् भन्न मनलाग्छ । 

    तर यो ‘धन्न’मा पनि एउटा ठूलो अर्थ छ । यत्तिका वर्ष निरन्तर प्रकाशित हुनु चानचुने कुरा होइन । हजारौं पत्रिका प्रकाशन सुरु भए, केही अंक–महिना–वर्ष चले । केही चर्चित पनि भए तर विस्तारै हराए । कतिपयको नाम मात्रै बाँकी छ । कतिपय त नामसँगै इतिहासबाटै हराइसके ।

    मैले पत्रकारिता सुरु गरेको ‘छलफल’ साप्ताहिकदेखि थोरै समय गाँसिएको ‘राष्ट्रवाणी’ साप्ताहिक, ‘नयाँ सडक’ दैनिक, ‘स्पेसटाइम’ दैनिक, ‘प्रतिपक्ष’ साप्ताहिक, ‘देश’ साप्ताहिक, ‘कान्तिपुर साप्ताहिक’ र ‘नेपाल’ म्यागेजिनसम्मका यात्रालाई सम्झँदा यो कुरा अझ प्रस्ट हुन्छ । तीमध्ये अहिले पनि निरन्तर प्रकाशित हुँदै आएका छन् भने सायद सुरुका दुईवटाको नाम लिन सकिन्छ । ती पनि कुन अर्थमा निरन्तर छन्, त्यो छुट्टै बहसको विषय हो ।

    त्यसैले ‘परिवर्तनशील आवाज’को १९ वर्षलाई सामान्य वार्षिकोत्सवका रूपमा मात्र हेर्न मिल्दैन । यो एउटा स्थानीय पत्रिकाले समय, प्रविधि, बजार र परिस्थितिसँग गरेको संघर्षको परिणाम पनि हो ।

    आजको पत्रकारिता !
    वार्षिकोत्सव कार्यक्रममा अग्रज पत्रकार ताराचन्द्र देवकोटाले एउटा निकै मार्मिक कुरा राखे–  ‘सामाजिक सञ्जाल भएपछि अरू पत्रकारिता किन चाहियो भन्ने सरकार छ ।’ 

    यो एउटा वाक्य मात्रै होइन, अहिलेको पत्रकारिताले भोगिरहेको चुनौतीको चित्र पनि हो । सामाजिक सञ्जालले सूचना उत्पादन र वितरणको स्वरूप नै बदलिदिएको छ । मोबाइलबाटै समाचार बन्ने र केही सेकेन्डमै हजारौं मानिससम्म पुग्ने समय आएको छ ।

    तर सूचना र पत्रकारिता एउटै कुरा होइनन् । सामाजिक सञ्जालले सूचना दिन सक्छ । पत्रकारिताले त्यसको सत्य खोज्नुपर्छ । प्रश्न गर्नुपर्छ । सन्दर्भ दिनुपर्छ । जवाफदेही बनाउनुपर्छ । त्यसैले पनि छापा पत्रकारिताको आवश्यकता सकिएको छैन । बरु यसको भूमिका फरक ढंगले पुनः परिभाषित गर्नुपर्ने बेला आएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि नरेन्द्रभक्त हाडा भन्दै थिए, पत्रकारिताको एउटा ठूलो जिम्मेवारी यही हो,  राज्यलाई प्रश्न गर्ने, समाजलाई ऐना देखाउने र आवश्यक पर्दा नागरिकको पक्षमा उभिने ।

    हामी पनि एकपटक बहकियौं 
    कान्तिपुर पब्लिकेशनमा काम गर्दागर्दै एक समय पेशल आचार्य अर्थात् ‘पेशल दाइ’ र म पनि बहकियौं । ‘अरूका लागि कहिलेसम्म काम गर्ने ? अब आफैं सुरु गर्नुपर्छ’ भन्ने भावनामा बग्यौं । एउटा साप्ताहिक पत्रिकाको अवधारणा बन्यो । काम सुरु भयो ।

    उहाँ प्रकाशक र म सम्पादक । पुष्करजी (पुष्करराज बुढाथोकी) पनि जोडिनु भयो । पत्रिकाको नाम राखियो– ‘देश’ । सुरुआती दिनमा ‘देश’ दौडिन्छ कि उड्छ जस्तो भयो । सामग्री, प्रस्तुति र उत्साह । सबैमा ऊर्जा थियो । पाठकले पनि राम्रो प्रतिक्रिया दिए ।

    पछि बिस्तारै त्यसको ‘स्पिड’ बयलगाडाजस्तै हुन थाल्यो । पत्रिका हेरेर मानिसहरू प्रशंसा गर्थे । ‘कति राम्रो निकाल्नुहुन्छ !’ ‘यस्तो साप्ताहिक त नेपालमा छैन नि !’ यस्ता प्रतिक्रिया सुन्दा हामी गजक्क पर्थ्यौं ।

    राष्ट्रिय स्तरको वर्गीकरणमा निरन्तर ‘क’ वर्गमा परयौं । बाहिरबाट हेर्दा सबै कुरा राम्रो थियो । तर त्यो ‘क’ वर्गको प्रमाणपत्र हामीलाई विस्तारै ‘भालुको कन्पट’ जस्तो लाग्न थाल्यो । अन्ततः सात वर्ष पनि पूरा गर्न नपाउँदै ‘देश’ बन्द गर्न बाध्य भयौं । 

    त्यस यात्राले एउटा कुरा सिकायो– पत्रिकाको राम्रो हुनु र टिकिरहनु एउटै कुरा रहेनछ । ‘देश’ निकाल्दा अर्को एउटा कमजोरी पनि भयो । पत्रिका हेरेर प्रशंसा गर्ने धेरै भेटिए । हामी पनि खुसी हुन्थ्यौं । तर ‘यो कुरा सुधार्नुस्’, ‘यसरी गर्दा अझ राम्रो हुन्छ’ भन्ने सुझाव भने खासै आउँदैनथ्यो ।

    सायद कसैले दिएको भए पनि हामीलाई मन नपर्न सक्थ्यो । किनकि आफ्नो कामप्रति मानिस आफैंलाई जति राम्रो लागेको हुन्छ, अरूले गरेको आलोचना त्यति सहजै पचाउन सकिदैन । त्यो सायद आम कमजोरी हो । 

    त्यसैले ‘परिवर्तनशील आवाज’लाई एउटा सानो सुझाव दिन मन लाग्छ । हरेक साता एउटा ‘इस्यु’ उठाउनुहोस् । एउटा विषयलाई समात्नुहोस् । त्यसको पृष्ठभूमि खोतल्नुहोस् । सम्बन्धित व्यक्ति र निकायसँग प्रश्न गर्नुहोस् । तथ्य खोज्नुहोस् । त्यसको परिणाम के भयो भनेर अर्को अंकमा पछ्याउनुहोस् । 

    भक्तपुरमा यस्ता धेरै विषय छन्, जसलाई स्थानीय तहमा उठाउँदा राष्ट्रिय बहसको विषय बनाउन सकिन्छ । पत्रिकाले एउटा समाचार छापेर बिर्सने होइन । एउटा मुद्दा उठाएर त्यसको पछाडि निरन्तर लाग्ने पत्रकारिता गर्न सके ‘परिवर्तनशील आवाज’को नाम अझ सार्थक हुनेछ । भाषामा पनि थप मेहनत आवश्यक छ । समाचारको शक्ति केवल विषयमा हुँदैन, त्यसलाई प्रस्तुत गर्ने भाषामा पनि हुन्छ । 

    रामचन्द्रको रहस्य !
    यस्तो पनि प्रश्न उठ्छ– आखिर रामचन्द्र प्रजापतिले कसरी यो पत्रिका १९ वर्षदेखि चलाइरहेका छन् ? कारण मलाई थाहा छैन । हेर्दा र सुन्दा उनी सोझा र इमान्दार देखिन्छन् । सधैं सुटेटबुटेट । व्यवहारमा सरल ।

    मैले एक मित्रलाई सोधेँ पनि– ‘परिवर्तनशील आवाज’ निरन्तर प्रकाशित भइरहने राज के होला ? उनको जवाफ थियो– ‘लोकल हुन्, नेता हुन् । जसोतसो चलेका होलान् ।’ मैले फेरि सोचेँ,– जे होस्, चलेका छन् । अहिलेका लागि यही नै ठूलो कुरा हो ।

    पत्रिका चलाउनु भनेको केवल छापाखानामा कागज छाप्नु होइन । हरेक साता सामग्री जुटाउनु, समाचार खोज्नु, पत्रकारलाई परिचालन गर्नु, विज्ञापन खोज्नु, खर्च धान्नु, पाठक जोगाउनु र अर्को अंकका लागि फेरि सुरुदेखि दौडिनु हो । त्यसैले १९ वर्षसम्म एउटा साप्ताहिक पत्रिकाको चक्का घुमाइरहनु आफैंमा एउटा उपलब्धि हो ।

    अब २०औँ वर्षको प्रतीक्षा
    ‘परिवर्तनशील आवाज’ को १९ वर्षे यो यात्रामा धेरै कमजोरी होलान् । स्रोतको अभाव होला । व्यावसायिक चुनौती होलान् । सामग्री, भाषा र प्रस्तुतीकरणमा सुधार गर्नुपर्ने ठाउँ होलान् । तर एउटा सत्यलाई अस्वीकार गर्न मिल्दैन– यो पत्रिका अझै छ ।

    १९ वर्षदेखि हरेक साता एउटा आवाज कागजमा छापिँदै आएको छ । डिजिटलको बाढीमा कागजको यो आवाज सानो देखिन सक्छ । तर लोकतन्त्रमा आवाजको आकार होइन, त्यसको निरन्तरता र विश्वसनीयता महत्वपूर्ण हुन्छ ।

    अब ‘परिवर्तनशील आवाज’ले २०औँ वर्षको यात्रातर्फ पाइला बढाएको छ । सायद त्यो दिन अझ धेरै मानिस भेला होलान् । अझ ठूलो मञ्च होला । शुभकामना दिनेहरू अझ धेरै होलान् । तर त्यो दिनसम्म पुग्नुअघि एउटा प्रश्न प्रकाशक र सम्पादकलाई, – ‘परिवर्तनशील आवाज’ले हरेक साता के प्रश्न उठायो ?

    यदि त्यसको जवाफमा भक्तपुरका नागरिकका समस्या, सार्वजनिक निकायका कमजोरी, समाजका सकारात्मक कथा र परिवर्तनका आवाज भेटिन थाले भने २०औँ वर्षको उत्सव साँच्चिकै अर्थपूर्ण हुनेछ । किनकि पत्रिकाको उचाई वर्षले होइन, उसले समाजमा उठाएका प्रश्नले नापिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij