काठमाडौं । बडादसैँको सातौँ दिन आज आश्विन शुक्ल सप्तमीका अवसरमा घरघरमा फूलपाती भित्र्याइँदै छ । यसै दिन नवदुर्गामध्ये सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।
वैदिक सनातन परम्पराअनुसार फूलपाती अपराह्नकालमा दसैँघर वा पूजा कोठामा भित्र्याउने गरिन्छ । नवरात्रको यस दिन देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
धार्मिक मान्यताअनुसार कालरात्रि देवीलाई भय र सङ्कट नाश गर्ने शक्तिका रूपमा पूजा गरिन्छ । कृष्ण वर्ण र भयङ्कर स्वरूप भएकी यी देवीले काललाई समेत नष्ट गर्न सक्ने विश्वास विभिन्न पुराणमा उल्लेख छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर सुरु गरिएको दुर्गा पूजाअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो । आज सातौँ दिन कालरात्रिको पूजा गरिँदै छ ।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको आराधना गर्ने चलन छ । देवीको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गरिन्छ । आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरेपछि दसैँको मुख्य दिन विजयादशमीमा देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाएर नेपालीले बडादसैँ मनाउँछन् ।