ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको सबै पदको मतगणना सकिएको छ। असोज २३ गते रातिदेखि सुरु भएको मतगणना शुक्रबार बिहान सम्पन्न भएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसपटक ७ हजार ३९२ मतदाताको करिब १ लाख ६२ हजार मतपत्र एक सातामै गणना गरिएको छ। १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।
मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सबै पदको मतगणना सकिएको हो। लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यको मतगणना यसअघि नै सकिएको थियो।
यसपटक दिनरात गरी करिब २५ समूह बनाएर मतगणना गरिएको थियो। २२९ पदका लागि भएको निर्वाचनमा प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गरेका थिए।
निर्वाचन समितिका अनुसार मतदान र मतगणनाका क्रममा कुनै विवाद भएन। निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण दसैँपछि गरिनेछ।