काठमाडौं उपत्यका छोड्ने सर्वसाधारणको संख्या १० लाख पुग्ने

काठमाडौं उपत्यका छोड्ने सर्वसाधारणको संख्या १० लाख पुग्ने

शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • काठमाडौं उपत्यका छोड्ने सर्वसाधारणको संख्या १० लाख पुग्ने

    काठमाडौँ, ३० असोज । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको सङ्ख्या बढेको छ। यस वर्ष दसैँमा सार्वजनिक यातायातमार्फत ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजारसम्म यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

    पूर्वाधार विकास समितिको अध्ययन प्रतिवेदनअनुसार यात्रु ओसार्न दैनिक आवश्यकताअनुसार ४३ हजारदेखि ६५ हजारसम्म सार्वजनिक सवारीसाधनका ट्रिप आवश्यक पर्नेछन्। असोज ३१ गते फूलपातीदेखि कात्तिक २ गतेसम्म यात्रुको चाप सबैभन्दा बढी हुने अनुमान छ।

    कमजोर सडकले यात्रा जोखिमपूर्ण

    भोटेकोशीको बाढीपछि पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक भासिने समस्या तथा बीपी राजमार्गमा पहिरो जाने क्रमले यात्रामा जोखिम बढाएको छ। बूढीगण्डकीको बाढीबाट गोरखाको आरुघाट क्षेत्रमा पुलमा क्षति पुगेपछि सडक आवागमनसमेत प्रभावित भएको छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले राजमार्गको खराब अवस्थाका कारण यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन चुनौती रहेको बताएका छन्।

    सडक विभागले सम्भावित विपद् व्यवस्थापनका लागि ५३ वटा डोजर, स्काभेटर र लोडर तयारी अवस्थामा राखेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वमा ट्राफिक व्यवस्थापनका लागि एक हजार ३०० भन्दा बढी जनशक्ति परिचालन गर्ने जनाएको छ।

    प्रतिवेदनले सवारीसाधनको अवस्था, कागजात, चालक अनुमतिपत्र, मादक तथा लागूऔषध सेवन र क्षमताभन्दा बढी यात्रु बोके–नबोकेको जाँच गर्न सुझाव दिएको छ। लामो दूरीका सवारीमा दुई जना चालक राख्ने नियमको पालना गराउन पनि जोड दिइएको छ। राससको सहयोगमा

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij