काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने प्रतियोगितालाई आईसीसीले मान्यता प्रदान गरेको हो ।
क्यानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने जनाएको छ ।
क्यानका सचिव पारस खड्काले एनपीएलले आईसीसीको आधिकारिक मान्यता पाउनु नेपाली क्रिकेटका लागि गर्वको विषय भएको बताएका छन् । उनले यसलाई लिगमा मात्र सीमित नरही नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।
यसैबीच, आईसीसीको एसिया सम्मेलन पनि नेपालमा आयोजना हुने भएको छ । आगामी मंसिरको पहिलो साता काठमाडौंमा हुने सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एनपीएलका दुई खेलसहित फाइनल खेलको अवलोकन गर्ने क्यानले जनाएको छ ।
आईसीसीको आधिकारिक मान्यतासँगै एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप पहिचान बनाउने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।